२५ जेठ २०८३, सोमबार

गरिब विपन्नलाई कम्बल वितरण गर्ने मधेस सरकारको तयारी

गरिब विपन्नलाई कम्बल वितरण गर्ने मधेस सरकारको तयारी

शीतलहर र चिसो बढेसँगै मधेस प्रदेश सरकारले कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी शुरु गरिएको मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिए । प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित गरिब, विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको मन्त्री साहले बताए । 

यस वर्ष चिसोमा मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणको कामसमेत अघि बढाउन समन्वय भइरहेको उनले बताए । “शीतलहरबाट जोगिन पूर्वतयारीबारे प्रदेशका आठ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा छौँ”, मन्त्री साहले भने, “चिसोबाट जोगिन आवश्यक पर्ने न्यानो लुगा र दाउरालगायतको बन्दोबस्तीमा प्रदेश सरकारले समन्वय गरिरहेको छ ।” 

विगतमा जाडो बढेपछि चोकचोकमा आगो बाल्न दाउराको व्यवस्था हुँदैआएको छ र यस पटक पनि स्थानीय प्रशासनसँग छलफल गरेर तयारी गरिरहेको मन्त्री साहले बताए ।  

प्रदेशको कूल जनसङ्ख्यामध्ये करिब १५ प्रतिशत जनसङ्ख्या दलित, विपन्न छन्, ती सबै चिसोबाट प्रभावित हुनेगरेका छन् मधेस सरकारले भनेको छ । प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाका अनुसार अधिकांशसँग चिसोबाट जोगिन ओढ्ने, ओछ्याउने न्यानो लुगा हुँदैन, त्यसैले चिसोबाट कतिपयले ज्यानसमेत गुमाउने गर्छन् ।  

यसैबीच विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीलहरका कारण मधेस प्रदेशका जिल्लाको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दूधे बालकदेखि वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । रासस 

salt training

कमेन्ट गर्नुहोस्