२१ जेठ २०८३, बिहीबार

संक्रमण घटेपछि ल्याइएन कोरोना विरुद्धको खोप

संक्रमण घटेपछि ल्याइएन कोरोना विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

कोरोना भाइरसको संक्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । संक्रमण घट्दै गएको र ठूलो संख्यामा खोप मौज्दात रहेकाले ३ महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । 

कोरोना भाइरसको संक्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना संक्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको संख्या कम हुनु र नेपालमा ठूलो संख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो ।

अहिले संक्रमण दर १ प्रतिशतभन्दा पनि कम रहेको छ । पुस १ गते ८४६ जनाको परीक्षण गर्दा १ जनामा पनि संक्रमण देखिएको छैन । 

उनका अनुसार अन्तिमपटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार ९४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन । ‘अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं,’ उनले भने, ‘तर बूस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौं ।’ 

उनले खोपको माग कम भएपछि खोप नल्याइएको बताए । ‘नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौं,’ उनले भने, ‘आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछौं ।’ सम्झौता गरिएकोमध्ये २ पटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ । 

सरकारले बूस्टर डोजका लागि भने खोप ल्याउने तयारी गरेको छ । पहिलो र दोस्रो मात्रा लगाएका लागि थप मात्रा लगाउन खोप ल्याउने थालेको आपूर्ति व्यवस्थापन शाखा प्रमुख चौरसियाले जानकारी दिए ।

नेपालमा संक्रमणको रोकथाम र नियन्त्रण गर्नका लागि पहिलोपटक भारतबाट सन् २०७७ माघ ८ गते १० लाख मात्रा खोप ल्याइएको थियो । त्यसपछि पटक–पटक गरी अहिलेसम्म ६ करोड ३२ लाख ७६ हजार ७१० मात्रा खोप आइसकेको छ ।

नेपालमा कोभिशिल्ड, भेरोसेल, मोर्डना, एस्ट्राजेनिका, जोन्सन एन्ड जोन्सन र फाइजर लगायतका कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । 

नेपालले आफैं खरिद गरेर, दातृ निकायबाट अनुदान र कोभ्याक्स सुविधामार्फत कोरोना भाइरसविरुद्ध खोप ल्याएको छ । उनका अनुसार ४९ लाख २१ हजार ६३२ मात्रा खोप मौज्दात रहेका छन् । सबभन्दा बढी भेरोसेल ४३ लाख ६६ हजार १६६ मात्रा मौज्दात रहेको छ । फाइजर ६० हजार सात सय ५६ मात्रा, फाइजर (बालबालिका) लाई लगाउने ४ लाख ९४ हजार ७१० मात्रा मौज्दात रहेको छ ।

सबभन्दा बढी केन्द्रीय भण्डारण केन्द्र टेकुमा ४० लाख मात्रा भेरोसेल मौज्दात रहेको छ । नेपालमा कूल लक्षित जनसंख्यामध्ये ९९.५ प्रतिशतमा पहिलो मात्रा र ९५.७ प्रतिशतमा पूर्ण मात्रा खोप लगाइसकेको छ । कूल जनसंख्याको ७९.५ प्रतिशत पहिलो मात्रा र ७६.५ प्रतिशत पूर्ण मात्राको खोप लगाइसकेका छन् । – शरद् शर्मा/रासस

salt training

कमेन्ट गर्नुहोस्