२९ असार २०८३, सोमबार

हप्तामा पाँच दिन उडान हुनेभएपछि दाङका नागरिक उत्साहित

हप्तामा पाँच दिन उडान हुनेभएपछि दाङका नागरिक उत्साहित

दाङको तुलसीपुर –१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुनेभएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुनेगरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदैआएको थियो । उडान थप भएपछि यहाँका नागरिक उत्साहित भएका छन् । 

पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्नेगरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन रिफ्युल गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताइन् । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न शुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उनले भनिन्, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।” यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्नेगरी तयारी गरिएको उनले जानकारी दिइन् । 

साथै निजी हवाई सेवासँग पनि समन्वय गर्नेगरी तयारी रहेको उनको भनाइ छ । “नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ”, उनले थपिन्, “त्यसमा यात्रुको माग कस्तो आउँछ, त्यसमा भर पर्छ ।” केही दिनअघिदेखि विमानस्थलमा निर्माण भएको इन्धन डिपोबाट इन्धन भर्न थालिएको छ । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ । 

कुनै समय दैनिक दुई वटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।

विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । “इञ्जीनियर आएर डीपीआरका लागि सबै हेरेर गइसकेको छ”, उनले बताइन् । विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ । सोही समितिले अहिले आफ्ना गतिविधि अगाडि बढाएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्