
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनभित्र कांग्रेसको नेतृत्वमा सरकार बनाउन प्रयास गर्ने बताएका छन् । अन्य दललाई समेत स्वीकार्य हुने व्यक्ति भएकोले पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा अगाडि सारिने उनले बताए ।
पार्टी केन्द्रीय कार्यालयमा आइतवार बसेको कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरुसँग कुरागर्दै प्रवक्ता महतले कांग्रेसको नेतृत्वमा सरकार बन्ने र देउवा प्रधानमन्त्री हुने दाबी गरेका हुन् । ‘पहिलो दल भएकोले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुलाई स्वभाविक लिएका छौँ । गठबन्धनभित्र संवाद–वार्ता–छलफल अगाडि बढाउछौँ’, महतले भने, ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ, स्वभाविक नेतृत्व सभापति शेरबहादुरको हो । संसदीय दलको नेता चयनपछि हामी निष्कर्षमा पुग्छौँ ।’
कांग्रेस प्रवक्ता महतले सरकार बनाउनको लागि अन्य दलको समेत समर्थन लिनुपर्ने भएकोले देउवाको नेतृत्वमा सहमति जुटाउन सकिने दाबी गरे । ‘अन्य दलको सहयोगमा सरकार बनाउनु पर्छ, पार्टीभित्र बहिर सबैले स्वीकार्ने नेतृत्व आवश्यक पर्ने भएकोले त्यहीअनुसार पार्टीमा सर्वसम्मत नेता चयन भयो भने कांग्रेसलाई फाइदा पुग्छ’, महतले भने ।
संसदीय दलको नेता चयनको प्रक्रिया शुरु भए पनि एकमात्र उम्मेदवार बनाउन कोशिस गरिने महतले बताए ।