राष्ट्रिय स्वयम्सेवक संघ (आरएसएस) सँग आवद्ध संगठन भारतीय किसान संघ (बीकेएस) ले आज सोमबार विभिन्न माग राख्दै दिल्लीस्थित रामलीला मैदानमा प्रदर्शन गर्दैछ । लामो समयदेखि राखेका माग सम्बोधन नभएको भन्दै संघले भारतीय सरकारलाई दवाव दिन प्रदर्शन गर्न लागेको हो ।
प्रधानमन्त्री किसान सम्मानका लागि रकम बढाउनुपर्ने, खाद्यमा सहुलियत दिनुपर्ने, किसानलाई उपलब्ध गराउने वित्तिय सहायता प्रदान गरिनुपर्ने, किसानलाई थप सहुलियतको कार्यक्रम ल्याउनुपर्ने, जैविक खेतीलाई प्राथमिकता दिनुपर्ने, किसानको आम्दानी बढाउने खालका आयोजना ल्याउनुपर्ने लगायतका मागसहित संघ दवावको कार्यक्रम गर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
त्यसैगरी बीकेएस किसान क्रेडिट कार्डको सीमा तीन लाखबाट बढाएर दश लाख बनाउनुपर्ने, कार्ड भएकाहरुलाई भारतीय खाद्य सुरक्षा र मानक प्राधिकरणबाट प्रमाणपत्र नलिएरै सुक्ष्म प्रसंस्करण खाद्य इकाइ स्थापित गर्न लाइसेन्स दिनुपर्ने माग पनि संघले गरेको छ ।