
उमेरले आफूभन्दा ३० वर्ष जेठो रहेका पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिएर महामन्त्री गगन थापाले कांग्रेस वृत्तमा फेरि हलचल पैदा गरेका छन् ।
पटक–पटक प्रधानमन्त्री, पार्टी सभापति र संसदीय दलको नेता बनिसकेका शेरबहादुर देउवालाई ४६ वर्षीय गगनले टक्कर दिएका छन् ।
गगनको उम्मेदवारीलाई कांग्रेसभित्र पुस्तान्तरणको नयाँ कडीको रूपमा व्याख्या गर्न थालिएको छ ।
चुनावपछि प्रधानमन्त्रीमा एटेम्ट गर्ने उद्घोष गरेका गगनलाई काठमाडौं– ४ बाटै हराइदिन्छन् भन्ने विश्लेषण कांग्रेसमा भएको थियो । तर उनले विगतभन्दा फराकिलो मतान्तरसहित चुनाव जिते ।
देउवाविरुद्ध भिड्न आफ्नै समूहभित्र सहमति जुटाउनु गगनका लागि चुनौती थियो । अन्तिममा शेखर कोइरालाको पनि समर्थन जुटाउन सफल भए ।
संसदीय दलको नेतामा उम्मेदवारी दर्तापछि गगनले भनेका छन्–
नेपाली कांग्रेसभित्र हुन लागेको निर्वाचनले पनि कांग्रेसभित्रको आन्तरिक लोकतन्त्रको परिचय दिइरहेको छ । नेपाली कांग्रेसबाट निर्वाचित भएर आउनुभएका सबै सांसदहरूलाई अहिलेको संसदीय दलको निर्वाचन पार्टीको आन्तरिक निर्वाचन छैन । त्यसैले संसदीय दलको निर्वाचनका लागि मतदान भएर आएका छौं । हामी पार्टीका सदस्यहरूले मात्र छानेर मतदाता भएका होइनौं, आमजनताले छानेर मतदाता भएका हौं । मत हाल्ने सांसदहरूले हो । सांसदहरूले जनताको प्रतिनिधित्व गर्नुपर्छ । त्यसैले यो बेला आममतदाताहरूको माग के छ, उनीहरूले के चाहन्छन्, उनीहरूको प्रतिनिधित्व नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरूले भोलिको निर्वाचनमा पनि गर्नुहुन्छ भन्ने विश्वास व्यक्त गर्दछु । पार्टी सभापतिसँग निर्वाचन लड्दैगर्दा विगतमा पार्टी सभापतिसँग उभिएको जस्तैगरी स्मरण गर्नुपर्छ । पार्टीलाई जीवन्तताका लागि यो आवश्यक छ । नेपाली कांग्रेसको भविष्य र अपेक्षासँग यो कुरा जोडिएको छ । नेपाली कांग्रेस नेतृत्वको सरकारबाट जनताले अपेक्षा गरेको सुशासन हो । सुशासन र सुखद् परिणामका निम्ति कांग्रेसको दाबी हो । यसका निम्ति सांसदहरूले आफ्नो विवेकको प्रयोग गर्नुहुन्छ ।’

कांग्रेसमा बनेको समीकरण
गगनको उम्मेदवारीसँगै कांग्रेसमा नयाँ सम्भावना र समीकरण बनाइदिएको छ । महामन्त्री विश्वप्रकाश शर्मादेखि प्रदीप पौडेल समेत एकै ठाउँमा उपस्थित भएका छन् ।
सिंहदरबारबाट सार्वजनिक भएको यो फोटोले कांग्रेसमा नयाँ तरंग सिर्जना गरिदिएको छ ।
काठमाडौं– ४ बाट गगन विजयी भएलगत्तै बधाई दिने क्रममा विश्वप्रकाशले गगनलाई संसदीय दलको नेता र भावी प्रधानमन्त्रीमा समर्थन गर्ने बताएका थिए ।
गत वर्ष भएको १४ औं महाधिवेशनमा फरक प्यानलबाट महामन्त्री लडेका विश्वप्रकाशले गगनलाई समर्थन गर्नुको राजनीतिक अर्थ र सन्देश छ ।

१५ औं महाधिवेशनमा विश्वप्रकाशलाई सघाउने शर्तमा अहिले गगनलाई समर्थन गरेको भनेर बाहिर चर्चा भएको छ । तर, विश्वप्रकाशले नै भनेका छन्, ‘अहिले हामी खोलो तर्दैछौं । पहाड चढ्नेबारे अहिले सल्लाह भएको छैन । महाधिवेशन ४ वर्ष पछि छ ।’
विश्वप्रकाशसँगै प्रदीप पौडेलले पनि गगनलाई समर्थन गरेका छन्, जो सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । कांग्रेसमा ‘च्याँखे थापेर शक्ति आर्जन’ गर्ने आरोप लागेका कृष्ण सिटौला समूहको समर्थन लिने क्रममा सिटौला समूहले पौडेललाई महामन्त्री भिडाएको थियो । विगतमा गगन पनि सिटौला समूहमै थिए ।
महाधिवेशनमा देउवाको समर्थन गरे पनि प्रदीपको केमेस्ट्री मिल्ने भनेको गगन र विश्वप्रकाशसँग नै हो । पहिलोपटक संसदीय चुनाव जितेका प्रदीप युवाहरूको भावना र चाहनाकै कारण गगनलाई समर्थन गर्न बाध्य भए । उनलाई देउवा क्याम्पमा लाग्दा परिवर्तनविरोधी भिलेन बनेको बिल्ला लाग्न सक्थ्यो ।
शेखरले चालेको सुझबुझपूर्ण कदम
संसदीय दलको नेताका स्वाभाविक दाबेदार रहे पनि कोइराला गगनको नाममा सहमत भए । शेखर र गगनबीच सहमति गराउन भूमिका खेलेका एक नेताका अनुसार आगामी महाधिवेशनमा कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भद्र सहमति भएको छ ।
उम्मेदवारी दर्तापछि शेखरलाई धन्यवाद दिँदै गगनले भनेका थिए, ‘पार्टीभित्र युवाहरूको चाहनाको बेगलाई उहाँले बुझेर संरक्षकत्व गर्नुभएको छ ।’
गगनको उम्मेदवारीको प्रस्तावक रहेका कोइरालाले संसदीय दलको कार्यालयमा उभिएर भने, ‘हामीहरूको बीचमा धेरै छलफल भयो । गगन थापाले भनेजस्तै स्थायित्व र निरन्तरताका लागि हामीले उहाँलाई संसदीय दलको नेतामा अगाडि सारेका हौं । आगामी पार्टी सभापतिको सहमतिको विषयमा भोलिका दिनमा हेर्दै जानुपर्छ । त्यो विषयमा गगनजीले बोलिसक्नुभएको छ,’ कोइरालाले भने ।
संसदीय दलको नेतामा संस्थापनइतरबाट दुवैजना उम्मेदवार बनेको भए दुवैले हार्ने र शेखर–गगन समूहमा फाटो आउने निश्चित थियो । पछि हट्न तयार नरहेका गगनलाई समर्थन गरेर कोइरालाले एकप्रकारको त्याग गरेका छन्, तर राजनीतिक लाभ लिइरहेका छन् ।

कोइरालाले देखाएको उदारताले १५ औं महाधिवेशनमा उनको सभापतिको दाबेदारी बलियो भएको छ । १४ औं महाधिवेशनको संघारसम्ममा संस्थापनइतरको नेता रामचन्द्र, शेखर या शशांक भन्नेमा विवाद थियो । संसदीय दलको नेतामा गगनलाई समर्थन गरेपछि १५ औं महाधिवेशनका लागि शेखर यो समूहबाट नेता बनेका छन् र उनले महाधिवेशनको तयारीका लागि समय पाएका छन् ।
संसदीय दलको नेतामा गगन विजयी हुने/नहुने केही घण्टापछि थाहा भइहाल्छ । संस्थापन पक्षका सांसद बाहुल्य रहेको समीकरण बदल्न सानोतिनो चमत्कार नै गर्नुपर्नेछ । तर, कांग्रेसको भविष्य र अहिलेका युवाको चाहनालाई बुझ्ने केही सांसदले कित्ता फेर्ने अनुमान कांग्रेसमा व्यापक छ ।
संसदीय दलको नेतामा जीतहार जेसुकै भए पनि शेखर, गगन, विश्वप्रकाश र प्रदीपहरूको एकजुटले कांग्रेभित्रको परिवर्तनको आकांक्षालाई उत्कट बनाइदिएको छ ।
देउवाको चतुर्याइँ र रामचन्द्रको लाचारी
संसदीय दलको चुनावमा देउवाले फेरि अर्को बाजी मारेका छन् । हिजोसम्म संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने लालसासहित रामचन्द्रले कसरत गरिरहेका थिए । आफू प्रधानमन्त्री बन्दा सबैको चित्त बुझ्ने र आफूप्रति सहानुभूति रहेको दाबी गरेका पौडेल अन्तिममा देउवाको पक्षमा उभिए ।
देउवालाई समर्थन गर्नुको कारणमा पौडेलले भनेका छन्, ‘अहिलेको असहज परिस्थितिमा नेपाली कांग्रेसभित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले मैले पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेतामा प्रस्ताव गर्ने भएको छु । पार्टी सभापतिलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गर्न सबैलाई आग्रह गर्दछु ।’
१३ औं महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका, २०६४ सालमा संसदीय दलको चुनावमा भिडेका र एकप्रकारले पार्टीभित्रका प्रतिस्पर्धी नेतालाई आफ्नो प्रस्तावक राखेर देउवाले आफूलाई राजनीतिको अब्बल खेलाडी प्रमाणित गरेका छन् । देशले आफ्नो भूमिका खोजिरहेको दाबी गर्ने पौडेलले सिंहदरबारको बाटो भन्द भए पनि शीतलनिवासको बास हुने आशा राखेर देउवालाई समर्थन गर्न विवश भएको चर्चा छ ।
आफूलाई संस्थापनइतरको नेता दाबी गर्ने पौडेल १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न नपाएपछि तटस्थ बसेका थिए । तटस्थ बसे पनि उनको समर्थन देउवालाई थियो भन्ने अहिले आएर प्रमाणित भएको छ । विगतमा कोइराला (गिरिजाप्रसाद) क्याम्पमा बसेर देउवालाई कर्नरमा पारेका पौडेल अहिले आएर देउवाको प्रस्तावक बन्नु कांग्रेसमा रोमाञ्चक घटना भएको छ ।