
प्रदेश १ सभाका नवनिर्वाचित सदस्यहरूको शपथग्रहण पुस ११ गते हुने भएको छ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा दिउँसो साढे १ बजे हुने प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मंगलवार सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।
सूचनामा ‘शपथग्रहणमा आउँदा निर्वाचन आयोगबाट प्राप्त प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि एवं हालसालैको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित दुई घण्टा अगावै राष्ट्रिय पोसाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा उपस्थित हुन’ उल्लेख गरिएको छ ।
‘प्रदेशसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिलिपीसहित प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ को उपदफा (२) तथा प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १९ बमोजिम तीन दिन अगावै प्रदेशसभा सचिवालयमा उपलब्ध गराउन समेत पराजुलीले आग्रह गरेका छन् ।
नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् । पहिला मण्डलले शपथ लिने छन् । मण्डलले साढे १२ बजे प्रदेश प्रमुखबाट शपथ लिएपछि उनले अन्य प्रदेशसभा सदस्यलाई शपथ गराउने छन् ।