०३ असार २०८३, बुधबार

सीमामा तस्करी रोक्न आईजीपी सिंहको निर्देशन

सीमामा तस्करी रोक्न आईजीपी सिंहको निर्देशन

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले काज सरुवा भएर जान लागेका जिल्लापतिहरूलाई सीमाको तस्करी रोक्न  निर्देशन दिएका छन् । सोमवार काज सरूवा भएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूलाई बुधवार प्रहरी प्रधान कार्यालयमा तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवं जघन्य अपराध नियन्त्रण निर्देशन दिएका हुन् । 

आईजीपी सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के–कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के–कस्ता काम भए, यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताए । 

नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उनले बताए । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इंगित गर्दै उनले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकताअनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिए । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरूमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उनले गलत काम गर्नेलाई कारबाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्