
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले आफूहरुको राजनीतिक पाठशालामा इमान्दारी र नैतिकतायुक्त राजनीतिक सँस्कृतिको संरक्षण र संवर्द्धनको पाठ अनुशासित शैलीमा पढाइने बताएका छन् ।
संसदीय दलको नेतामा गगन थापाको पक्षमा माहोल बनाउन सक्रिय भण्डारीले निर्वाचनमा प्राप्त मत अप्रत्यासित भएको बताएका छन् । यही अनपेक्षित परिणामलाई लिएर शेखर कोइराला–गगन थापा समूहमा फाटो ल्याउन प्रयास भएको भन्दै उनले कटाक्ष गरेका छन् ।
‘ हामी विचारमा बाँच्ने र जनभावनाको सम्मान गर्ने शक्ति हौँ । हाम्रो राजनीतिक पाठशालामा इमान्दारी र नैतिकतायुक्त राजनीतिक सँस्कृतिको संरक्षण र संवर्द्धनको पाठ अनुशासित शैलीमा पढाइन्छ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘बेइमानी र रूप र सारमा भिन्न देखिनु हाम्रो चरित्र होइन । आजको संसदीय दलको निर्वाचनको अनपेक्षित परिणामलाई लिएर हाम्रै पार्टी समूहमा फाटो ल्याउन चाहने कुत्सित मनसाय बोकेका केही कलुषित मित्रहरू एवं कतिपय सञ्चार माध्यमका मित्रहरूले धमिलो पानीमा माछा मार्न खोज्नु भएको छ । सत्यलाई हत्केलाले छेक्ने र भ्रमको खेती गर्ने नगरौँ ।’
उनले आफूहरुको अठोट र परिवर्तनसहितको नवनेपाल निर्माणको यात्रामा भ्रमका काँडा नबिछ्याइदिन पनि अनुरोध समेत गरेका छ्न । 'सकिन्छ आफू र आफ्नो पार्टीमा परिवर्तन गर्नुहोस्, अन्यथा हाम्रो अठोट र परिवर्तन सहितको नवनेपाल निर्माणको यस यात्रामा भ्रमका काँडा प्लिज नबिछ्याइदिनुहोस्', भण्डारीको भनाइ छ । संसदीय दलको निर्वाचनमा थापा सभापति शेरबहादुर देउवासँग भारी मतान्तरले पराजित भएका थिए ।