
बैंकको ब्याजदर वृद्धिको कारण समस्या परेको उद्योगी व्यवसायीहरुको पक्षमा नीति बनाउने काममा लाग्ने व्यवसायी समेत रहेका सांसदहरुले बताएका छन् । बिहीवार शपथ ग्रहण प्रश्चात संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसदहरुले निजी क्षेत्रको उद्योगी व्यवसायीहरुको पक्षमा नीति नियम बनाउन काम गर्ने बताएका हुन् । पछिल्लो समय मुलुकको अर्थतन्त्रमा देखिएको समस्या तथा बैंकको उच्च ब्याजदर वृद्धिको कारण समस्यामा परेका उद्योगीहरुलाई राहत दिनेगरी काम गर्ने बताए ।
नेपाली काँग्रेसका सांसद विनोद चौधरीले बैंकिङ तरलता अभाव, पुँजीगत खर्च ३५ प्रतिशतभन्दा कम हुने, कर्मचारीहरुलाई तलब ऋण गरेर खुवाउनु पर्ने अवस्था रहेकाले अर्थतन्त्र समस्यामा रहेको बताए । बैंकिङ ब्याजदर उच्च भएकाले उद्योग व्यवसाय चल्न नसक्ने अवस्था रहेको बताए । पछिल्लो समय महिनामा ६० हजार नेपाली युवा नेपाल छाडेर विदेश जानेक्रममालाई रोक्ने काममा आफू लाग्ने प्रतिवद्धता जनाए ।
पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्याहरु सरकारले तत्काल समाधान गर्न नसके अर्थतन्त्रले धान्न नसक्ने उनको भनाइ छ । अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्ने प्रमुख प्राथमिकतामा राखेर आगामी सरकारले ठोस निर्णय लिएर काम गर्नुको विकल्प नरहेको उनको सुझाव छ ।
त्यस्तै, एमाले सांसद तथा व्यवसायी देवीप्रसाद भट्टचनले मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हितका लागि काम गर्ने बताए । प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण पश्चात संसदमा प्रवेश गर्ने ढोका खुलेको भए पनि मुलुकको आर्थिक उन्नति र निजी क्षेत्रको हीतका लागि काम गर्नुपर्छ उनले भने । आफू त्यसका लागि सक्रिय रहने उनले बताए ।