२१ जेठ २०८३, बिहीबार

यस्तो गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की

पुस ८, २०७९
यस्तो गोप्यता अपनाएर वाशिङटन पुगेका थिए जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले रुसी आक्रमणको ३०० दिनपछि अमेरिकाको राजधानी वाशिङटनको भ्रमण गर्दा अपनाएको गोप्यता निकै रोमाञ्चक छ । 

मंगलवार अबेर राति उनी गोप्य रूपमा ट्रेन चढेर पोल्यान्डतर्फ लागेका थिए । 

त्यसको भोलिपल्ट बिहान उनी पोल्यान्डको दक्षिणमा रहेको शहर प्रजेमिसिल पुगे । त्यहाँ ट्रेन स्टेसनमा उनले युक्रेनका लागि अमेरिकी राजदूत ब्रिजेट ब्रिंकलाई भेटेको भिडियो फूटेज निजी टीभी च्यानल टीभीएनले प्रसारण गरेको थियो । 

जेलेन्स्कीको भ्रमणको योजना धेरै दिनअघि बनाइएको थियो । उनको सुरक्षाका विषयमा चिन्ताका कारण योजनालाई गोप्य राखिएको थियो । 

तर मंगलवार एक अमेरिकी न्युजलेटर पंचबाउल न्युजका पत्रकारले यस विषयमा ट्वीट गरेका थिए । 

पोल्यान्डमा जेलेन्स्की अमेरिकी सरकारको विमान चढेका थिए । उक्त विमान बुधवार मध्याह्न वाशिङटन नजिक मेरील्यान्डमा रहेको जोइन्ट बेस एन्ड्रुजमा ओर्लेको थियो । 

त्यसपछि उनी गाडी चढेर राष्ट्रपतीय गेस्ट हाउस ब्लेयर हाउस पुगेका थिए । त्यहाँ फ्रेश भएर उनी नजिकैको ह्वाइट हाउस पुगेका थिए । त्यहाँ उनलाई राष्ट्रपति जो बाइडन र उनकी पत्नी जिलले स्वागत गरेका थिए । 

सुट र टाईको साटो जेलेन्स्कीले हरियो स्वेटर र कार्गो प्यान्ट लगाएका थिए । आफू युद्धग्रस्त क्षेत्रबाट आएको सन्देश दिनका लागि उनले यो पहिरन छानेका थिए । 

जेलेन्स्कीले अमेरिकामा १२ घन्टाभन्दा कम समय बिताएका थिए । यस भ्रमणका विषयमा बाइडन र जेलेन्स्कीबीच डिसेम्बर ११ मा फोनवार्ता भएको थियो । त्यसको तीन दिनपछि ह्वाइट हाउसले उनलाई औपचारिक निम्तो दिएको थियो । 

जेलेन्स्कीले गत शुक्रवार यो निम्तो स्वीकारेका थिए र आइतवार भ्रमण पक्का गरिएको थियो । 

जेलेन्स्कीलाई सही दिन कुरेर अमेरिका भ्रमण गराउने कुनै गणितीय हिसाबकिताब नगरिएको बाइडन प्रशासनका एक अधिकारीले बताए । तर यस भ्रमणले जाडो याममा युक्रेनलाई अमेरिका तथा साझेदारहरूले गर्ने सहायतालाई थप गति दिएको उनको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्