२५ जेठ २०८३, सोमबार

बुढाथोकीको बसपार्क सुधार्ने अभियानले बसपार्क भयो सफासुग्घर

बुढाथोकीको बसपार्क सुधार्ने अभियानले बसपार्क भयो सफासुग्घर

दाङ तुलसीपुरका व्यवसायी निमबहादुर बुढाथोकी बिहान झिस्मिसेमा कुचो बोकेर बसपार्क निस्किन्छन् । उनले प्रत्येक शनिबार तुलसीपुर बसपार्कमा सरसफाइ गर्छन् । उनी बसपार्क सफा गर्ने कर्मचारी त होइनन् । तर सामाजिक उत्तरदायित्व बहन गर्दै उनले हप्ताको एक पटक बसपार्क पुगेर सरसफाइ गर्छन् । यसरी उनले बसपार्क सरसफाइ गर्न लागेको दुई वर्ष भयो । 

तुलसीपुर बसपार्क फोहर थियो । अव्यवस्थित रुपमा फोहर फालिएको थियो । तर कसैले पनि त्यो फोहर उठाउँदैनथे । त्यसैले पनि उनले सरसफाइ गर्न कर्मचारी नै हुनु पर्दैन, आफैँ पनि सरसफाइ गर्न सकिन्छ, भनेर लागे । “बसपार्क सरसफाइ गर्न कसैले पनि ध्यान दिएको देखिएन, सबै फोहरैफोहर थियो”, उनले भने । 

फोहर सफा गर्नुपर्छ भन्ने सन्देश दिन उनले काम थालेका हुन् । केही डस्टबिन त्यहाँ उनले राखे र फोहर राख्न अनुरोध गरे । “मैले आफैँ सधैँ सफा गर्न सम्भव पनि हुँदैन, म आफैँ व्यवसायी पनि हुँ, त्यसैले शनिबारको समय मिलाएर सरसफाइ गर्न थालेको हुँ”, उनले भने, “यसले बसपार्क सरसफाइ गर्न धेरै मद्दत पुगेको महशुस भएको छ ।” 

तुलसीपुर बसपार्कस्थित बुढाथोकी सप्लायर्सको सञ्चालक बुढाथोकी  विसं २०७७ फागुनदेखि नियमित प्रत्येक हप्ता सरसफाइ गर्दै आएको बताए । शुरुमा एक्लै सरसफाइ गरे पनि पछि उनको कामलाई सहयोग गर्न अरु पनि थपिएपछि सहज भयो । “६३ हप्तासम्म एक्लै सरसफाइ गरेँ”, उनले भने, “त्यसपछि केही साथीहरु थपिए ।” बसपर्क क्षेत्र धेरै नै फोहर भएपछि आफू पनि यो अभियानमा जोडिएको तुलसीपुरका राजु विकले बताए । “पहिले दाइलाई एक्लै सरसफाइ गरेको देख्यौँ, त्यसपछि हामी सरसफाइ गर्नुपर्छ, भनेर लाग्यौँ”, उनले भने, “हामीले सचेतना फैलाउने हो ।” विक अहिले कक्षा ११ मा सेन्टर स्कुलमा अध्ययनरत छन् ।  

अहिले पाँच जनाले प्रत्येक शनिबार बसपार्क सरसफाइ गर्दै आएका छन् । यातायात व्यवसायी टङ्क विक भन्छन्, “पहिले निकै फोहर हुने गथ्र्यो, अहिले नियमित सरसफाइले हाला बसपार्क बसपार्क सफा हुँदै गएको छ ।” उनीहरुले फोहर एक ठाउँमा राखेपछि त्यो फोहर लिन उपमहानगरपालिकाको गाडी आउँछ । रासस

salt training

कमेन्ट गर्नुहोस्