
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि पुस १० गतेसम्मको समयसीमा दिएर आव्हान गरेपछि दलहरुबीचको आन्तरिक छलफल र भेटघाट बाक्लिएको छ । सत्ता गठबन्धन दलका नेताहरुबीच सघन रुपमा छलफल र बैठक भइरहेका बेला संसदमा प्रमुख राजनीतिक दलको हैसियत बनाएको नेपाली कांग्रेसका सांसदहरुले यस विषयमा चासो लिन थालेका छन् ।
संसदमा ठूलो दलको हिसावले सरकारको नेतृत्व कांग्रेसले नै गर्न पाउनुपर्ने माग कांग्रेस नेताहरुबाट भइरहेका बेला सांसदहरुले सरकार गठनबारे छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेला हुँदैछन् । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा पुनः आफू दोहोरिनुपर्ने अडान राखिरहँदा तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको पार्टीले पहिलो चरणमा माओवादी केन्द्रले प्रधानमन्त्रीको जिम्मेवारी पाउनुपर्ने अडान छाडेका छैनन् ।
पहिलो चरणमै प्रधानमन्त्री नपाए गठबन्धन टुटनसक्ने सम्मको चेतावनी सो दलले दिन थालेपछि कांग्रेस सांसदहरु सशंकित भएका हुन् । सरकार गठन तथा गठबन्धन टिकाउने विषयमा सुझाव दिन कांग्रेसका सांसदहरु आज प्रधानमन्त्रीलाई भेटेर सुझाव दिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बताए ।
“प्रधानमन्त्री देउवाले सांसदहरुलाई बालुवाटारमा बोलाउनुभएको होइन, सांसदहरु आफै भेला भएर प्रधानमन्त्रीसँग भेट गरेर सुझाव दिन खोज्नुभएको हो” उनले भने । आज दिउँसो १२ः ३० बजेका लागि सांसदहरुले प्रधानमन्त्री देउवाको समय माग गरेको उनले बताए ।
सरकार गठनको विषय पेचिलो भइरहेका बेला कांग्रेस सांसदहरुले सुझाव दिनु सकारात्मक भएको उनले बताए । कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि देउवासँग पहिलो पटक कांग्रेस सांसदहरुले सामुहिक रुपमा आज छलफल गर्दैछन् । छलफलमा सरकार गठनका विषयसँगै पार्टीका आन्तरिक तयारीका विषयमा पनि छलफल हुने परियारले बताए ।
नयाँ सरकार गठनबारे प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पटक पटक भेट गरिसकेका छन् । सरकारको नेतृत्व गर्ने विषयमा कुरा नमिल्दा बैठक निस्कर्षविहिन बन्दैगउको छ । हिजो शुक्रबार साँझ पनि सभापति देउवा र अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको थियो ।