
प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनको प्रयास थालेको छ । सत्ता गठबन्धनमा सहभागी अर्को दल नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास थालेको हो ।
कांग्रेसले सरकार गठन प्रयोजनका लागि सांसदहरूको हस्ताक्षरसमेत संकलन गरिरहेको छ । हिजो (शुक्रवार)देखि नै कांग्रेसले हस्ताक्षर संकलन गर्न थालेको एक सांसदले बताए । शुक्रवार नै केही सांसदलाई खाली पृष्ठमा हस्ताक्षर गराएको एक सांसदले जानाकारी दिए । बाँकी रहेका सांसदहरूले शनिवार हस्ताक्षर गर्नेछन् ।
सरकार गठनका विषयमा छलफल गर्न कांग्रेसले शनिवार बैठक बोलाएको छ । शनिवार दिउँसो बस्ने बैठकमा सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । सरकार गठनका विषयमा सत्ता गठबन्धनमा पनि छलफल भइरहेको छ ।
कांग्रेसका प्रत्यक्ष ५७ र समानुपातिकमा ३२ गरी ८९ जना सांसद रहेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दाबी पेश गर्न आइतवार साँझसम्मको समयसीमा दिएकी छन् । संसदमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधि सभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था छ ।
सोही समायावधीभित्र सरकारको नेतृत्वका लागि दाबी पेश गर्ने गठबन्धनले बताएको थियो । तर, गठबन्धनमा सरकारको नेतृत्वसहित अन्य संवैधानिक पदको बाँडफाँटका बारेमा सहमति भएको छैन । संसदमा कुनै पनि पार्टीको एकल बहुमत नभएकाले तालमेल गर्नैपर्ने बाध्यता सिर्जना भएको छ ।