
लागुऔषध सेवन गरी सवारी साधन चलाएको पाइएपछि राजधानीबाट ७ जना चालक पक्राउ परेका छन् । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।
सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने चालकलाई विगत लामो समयदेखि चेकजाँच गरी कारबाही गर्दै आएको ट्राफिक प्रहरीले पछिल्लो समय लागुऔषध सेवन गरी सवारी साधन चलाउने चालकको सङख्या समेत बढेपछी कारबाहीलाई तीब्रता दिएको हो ।