
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धन भत्किएको विषयमा पार्टीका उपसभापति पूर्णबहादुर खड्कासँग विवाद नभएको बताएका छन् ।
लोकान्तर डट्कमले आइतवार प्रकाशन गरेको ‘मुखैमा आएको सत्ता फुत्किने गरी कसले उचाल्यो देउवालाई ?’ शीर्षकको समाचारमा उपसभापति खड्का र प्रवक्ता महतबीच चर्काचर्की भएको प्रसङ्ग उल्लेख थियो ।
बैठकमा सहभागी कांग्रेस उच्च तहका एक नेताले दिएको जानकारीका आधारमा लोकान्तरले समाचार प्रकाशन गरेको थियो ।
‘म सधैँ गठबन्धन तोडिनुहुन्न, गठबन्धनले निरन्तरता पाउनुपर्छ भन्ने पक्षमा छु । अन्य विकल्पमा जानु हुँदैन भन्ने मेरो सल्लाह रहँदै आएको थियो’, महतले भने, ‘म नियमित छलफलमा सहभागी पनि छैन । कुनै कार्यदलमा बसेर काम गरेको पनि होइन ।’
कर्णाली प्रदेशको संसदीय दलको नेता चयनका विषयमा सामान्य छलफल भएको विषयलाई उपसभापतिसँग दरार सिर्जना गरिदिने उद्देश्यले बाहिर ल्याइएको हुनसक्ने आशंका महतले व्यक्त गरे ।
‘कर्णाली प्रदेशको संसदीय दलको नेता चयनका विषयमा केही कुरा भनेको थिएँ । सर्वसहमति भयो, अब सकियो नि भन्ने मेरो कुरा थियो । त्यसलाई बढाई-चढाई गरेर बाहिर ल्याउने काम भएको रहेछ’, डा. महतले भने ।