
होटल व्यवसायमा विश्व प्रसिद्ध एकोर ग्रुप नेपालमा भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य एवं गैरआवासीय नेपाली देशवन्धु बस्नेत (अजित)ले उक्त ग्रुपलाई नेपालमा भित्र्याएका हुन् ।
बस्नेतले नेपालमा आफूले सञ्चालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटल प्राइभेट लिमिटेडको व्यवस्थापनमा विश्वप्रसिद्ध एकोर समूह भित्र्याएका हुन् । उक्त होटल एकोर समूहले ‘मर्क्यूर’ ब्रान्डको नाममा सञ्चालन गर्ने भएको छ । उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दि मेट्रोपोलिटिनबीच सम्झौता भएको छ ।
होटल व्यवस्थापनको लागि विश्वकै चर्चित समूह एकोर ग्रूपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँचतारे होटल दि मेट्रोपोलिटनमा बस्नेतको लगानी रहेको छ । एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरूको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो ।
उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापश्चात दि मेट्रोपोलिटिनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको शुरुवात गरेको बताए । ‘विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरूले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सिर्जना भएको छ ।’
उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयोग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरूलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित देवानले बताए ।
एकोरले नेपालमा मर्क्यूर ब्राण्डको नामबाट १०५ कोठा पाँचतारे होटल सञ्चालनमा ल्याउने छ । काठमाडौंको सुकेधारामा निर्मार्णाधीन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङपुललगायत पाँच तारे होटलमा आवश्यक सबै सुविधा उपलब्ध हुनेछन् । उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।