
निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेस कपिलवस्तुको विवाद सतहमा आएको छ । कांग्रेस कपिलवस्तुका नेता तथा कपिलवस्तु–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अभिषेकप्रताप शाहले जिल्ला सभापति अब्दुल कलामलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न माग गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै चुनावमा असहयोग गरेको आरोप लगाउँदै जिल्ला सभापतिसहित एक दर्जन जना नेतालाई कारबाही गर्न माग गरेका हुन् । शाहले लेखेको पत्रमा जिल्ला उप–सभापति हुमकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर रायमाझी, क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, जिल्ला प्रवक्ता ईश्वरी पाण्डे, जिल्ला सदस्य हरिप्रसाद पोख्रेललाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न माग गरिएको छ ।
शाह गएको मंसिर ४ भएको चुनावमा प्रतिनिधिसभा सदस्यमा एमालेका मंगलप्रसाद गुप्तासँग पराजित भएका थिए । २०६४ देखि लगातार चुनाव जित्दै आएका शाह ५ दलीय गठबन्धनको साथ पाएर पनि हारेका हुन् । चुनाव हारेलगत्तै कांग्रेस कपिलवस्तुमा भाँडभैलो मच्चिएको छ । क्षेत्रीय समितिले स्वयं शाहलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
यसको प्रतिउत्तरमा शाह पुनः उत्रेका हुन् । कांग्रेस क्षेत्र नं. ३ को क्षेत्रीय कार्यसमितिले शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहलाई साधारण सदस्य नरहने गरी कारबाही गर्न जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई सिफारिस गरेको छ ।
कांग्रेस जिल्ला सभापति अब्दुल कलामले व्यक्तिगत रिसइबीले पार्टीको क्षेत्रीय समितिको लेटरप्याड दुरुपयोग गरेर कारबाहीको पत्र लेखिएको भन्दै त्यो आधिकारिक नभएको बताए ।

