१९ असार २०८३, शुक्रबार

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुंग्याउने तयारी

मेलम्ची खोलाको पानी काठमाडौं ल्याउँदा दिइने लेबी टुंग्याउने तयारी
प्रतिकात्मक तस्वीर

मेलम्ची नदीबाट खानेपानी ल्याएबापत त्यस क्षेत्रलाई तिरिने रकम (लेबी) टुंग्याउन तयारी अघि बढाइएको छ ।

खानेपानी महसुल निर्धारण आयोग बन्न लागेको र लेबीको विषय पनि त्यसमै समेटिने खानेपानी मन्त्रालयका प्रवक्ता शोभाकान्त पौडेलले जानकारी दिए ।

उनका अनुसार खानेपानी महसुल निर्धारण ऐनमा आयोगको व्यवस्था रहेको र त्यसले नै लेबीको विषय टुंगो लगाउने उनले बताए । प्रवक्ता पौडेलले भने, ‘मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ । लेबी तत्काल आजको भोलि लागू गरिहाल्ने विषय नभएकाले पर्याप्त छलफल र तयारी गरेर मात्र कार्यान्वयन गराइनेछ ।’

राजस्वको विषयमा सरकारले स्थानीय तह, प्रदेश र संघलाई कति र कसरी उपलब्ध गराउने भनी राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगसँग पनि छलफल गर्नुपर्ने उनको भनाइ थियो । राजस्व निर्धारण गर्ने विषय ऐनमा प्रस्ट उल्लेख भएकाले सोही आयोगले लागू गर्ने प्रवक्ता पौडेलले बताए ।

उनका अनुसार अहिले दैनिक १७ करोड लिटर पानी ल्याइएको र त्यसबापतको रकम सम्बन्धित पक्षले पाउनेछ । भविष्यमा दैनिक ५१ करोड लिटर पानी आएपछि त्यसको पनि भुक्तानी दिइनेछ । दातृ निकायबाट सञ्चालित आयोजनामा लाभको केही भाग स्थानीयस्तरमा दिनुपर्छ भन्ने मान्यता रहँदै आएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।

खानेपानी आयोजना बन्दा स्थानीय क्षेत्रको पनि लाभ होस् र जलाधार क्षेत्रको पनि संरक्षणको मान्यता राखिएको र सोही आधारमा लेबी उपलब्ध गराइने उनले बताए ।

मेलम्ची खानेपानी आयोजनामा स्थानीयस्तरमा दिइने लेबीका लागि बनाइएको खाका स्वीकृतिको क्रममा रहेको उनले बताए । आयोजना सम्पन्न भएर पानी पूरै ५१ करोड लिटर आएपछि खुद नाफाबाट केही रकम दिइने प्रवक्ता पन्तले बताए । अझै आयोजना सम्पन्न भइनसकेर निर्माण काम भइरहेको छ । 

आयोजना शुरू भएपछि नै स्थानीय क्षेत्रका लागि विभिन्न काम भइरहेको जनाइएको छ । आयोजनाले सामाजिक विकास, भौतिक विकास लगायत क्षेत्रमा लगानी गरिरहेको छ । अहिले मेलम्ची नदीबाट मात्रै पानी ल्याइएकामा आयोजना सम्पन्न हुँदा लार्के र यांग्री नदीबाट समेत पानी काठमाडौं ल्याइने भएको छ । आयोजनास्थल हेलम्बु गाउँपालिकामा पर्छ भने मेलम्ची खानेपानी विकास समितिको कार्यालय मेलम्चीमा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्