
सात दलीय सत्ता साझेदार दलले छुट्टाछुट्टै दुई समिति गठन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए ।
सरकारलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्रमार्फत सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वय हुने उनको भनाइ छ ।
यसैगरी पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको उनको भनाइ छ । यसवाट नयाँ सरकारको काम जनअपेक्षा अनुरुप अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
‘पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई प्रभावकारी बनाउन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वयका लागि उच्चस्तरीय संयन्त्र र नेकपा (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको छ’, पोखरेलले बिहीबार राति सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट नयाँ सरकारको काम जनअपेक्षा अनुरुप अघि बढाउन सहयोग पुग्नेनै छ ।’
बिहीबार बिहान बसेको बैठकपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भने पाँच दिनभित्र सरकारको न्यूनतम् साझा कार्यक्रमको ड्राफ्ट तय गर्न ओलीको संयोजकत्वमा कार्यदल बनेको सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । उक्त बैठकमा मन्त्रिपरिषद् विस्तारका साथै प्रदेश सरकारमा भागबण्डाका विषयमा पनि छलफल भएको थियो ।