२८ जेठ २०८३, बिहीबार
सरसर्ती २४ घण्टा

ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र, पुस २९ पछि मन्त्रिपरिषद् विस्तार

ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र, पुस २९ पछि मन्त्रिपरिषद् विस्तार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सात दलीय सत्ता साझेदार दलले छुट्टाछुट्टै दुई समिति गठन गरेको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा उच्चस्तरीय संयन्त्र गठन गरिएको एमालेका महासचिव शंकर पोखरेलले जानकारी दिए । 

सरकारलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्रमार्फत सरकारमा रहेका दलहरुका बीचमा सहकार्य र समन्वय हुने उनको भनाइ छ । यसैगरी पार्टीका उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा न्युनतम् साझा कार्यक्रम मस्यौदा समिति गठन भएको उनको भनाइ छ ।  यसवाट नयाँ सरकारको काम  जनअपेक्षा अनुरुप अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ ।
००००
सत्ताको नेतृत्व माओवादी केन्द्रलाई दिएको नेकपा एमालेले १२ मन्त्रालय आफ्नो भागमा पाउनुपर्ने दाबी गरेको छ । अहिलेसम्म एमालेले अर्थ मन्त्रालयको जिम्मेवारी पाइसकेको छ । पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानसहित अर्थमन्त्री बनाएको छ ।

त्यसबाहेक एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई मन्त्री नियुक्त भएका छन् । दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो नलागिसकेका कारण उनीहरूले जिम्मेवारी पाएका छैनन् । 
एमालेबाट पृथ्वीसुब्बा गुरूङ, योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ र टोपबहादुर रायमाझी बन्ने रुचि देखाइरहेका छन् । त्यसैगरी एलपी साँवा, देवराज घिमिरे, भगवती चौधरी, कृष्णगोपाल श्रेष्ठ लगायतको नाम एमालेभित्र मन्त्रीको चर्चामा छ ।

तर सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने भएकाले त्यसैबेला मन्त्रालयको पनि बाँडफाँट हुनसक्ने एमाले अध्यक्ष ओलीनिकट एक नेताले जानकारी दिए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संसदको अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री प्रचण्डले पुस २९ गते संसदबाट विश्वासको मत लिने तयारी गरेको उनीनिकट एक नेताले बताए ।
००००
नेपालमा हालै गठन भएको सरकारसँग मिलेर काम गर्न तयार रहेको भारत सरकारले स्पष्ट पारेको छ । भारतको विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता अरिन्दम बाग्चीले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको बताएका हुन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिन सचिवालयले अब समय उपलब्ध नगराउने भएको छ । प्रधानमन्त्रीको सचिवालयले बिहीबार एक सूचना जारी गर्दै बधाई र शुभकामनाका लागि बित्ने समयलाई देश निर्माणका काममा खर्चन उचित हुने धारणा प्रचण्डले व्यक्त गरेकाले सोही अनुसार अघि बढ्न लागेको जनाएको छ ।
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई नयाँ गतिमा अघि बढाउन एकीकृत वाम शक्ति निर्माण गर्नुपर्ने बताएका छन् । पार्टी निकटका जनसङ्गठन र प्रवास क्षेत्रका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले समान विचार भएका वाम शक्तिको ध्रुवीकरणले राजनीतिक स्थिरता कायम भई देश र जनताको हितमा क्रियाशील रहन सहयोग पुग्ने बताए ।
००००
मधेस प्रदेश सरकारले प्रदेशसभाको पहिलो अधिवेशन  पुस १८ गते सोमबारका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । 
प्रदेशसभाको पहिलो अधिवेशन यही पुस १८ गते सोमबार दिउँसो १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख हरिशङ्कर मिश्रसमक्ष सिफारिस गरिएको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए ।
००००
प्रदेश सभामा निर्वाचित प्रदेशसभा सदस्यहरूमध्ये १५ जनाले मातृभाषामा शपथ लिएका छन् । जसमध्ये १२ जना प्रदेशसभा सदस्यले नेवारी, ३ जनाले तामाङ तथा बाँकी प्रदेशसभा सदस्यले नेपाली भाषामा शपथ लिएका छन् ।

कूल ११० जना बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएकामध्ये प्रदेश सभाको ज्येष्ठ सदस्यको रूपमा ढुंगानाले बुधवार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट शपथ ग्रहण गरेका थिए ।
००००
स्वतन्त्र सांसद प्रभु साहले आफ्नै नेतृत्वमा आमजनता पार्टी घोषणा गरेका छन् । राजधानीको एक होटलमा बिहीवार विशेष कार्यक्रम गरी साहले नयाँ पार्टी घोषणा गरेका हुन् ।
सो अवसरमा ५१ सदस्यीय तदर्थ समिति समेत गठन गरिएको छ । माओवादी पृष्ठभूमिका साह नेकपा विभाजनका क्रममा एमालेमै बसेका थिए ।
००००
नेपाली कांग्रेसको मधेश प्रदेशसभा संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित भएका छन् । अर्का प्रदेशसभा सदस्य रामसरोज यादवलाई पराजित गर्दै उनी प्रदेशसभा संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । 
मधेश प्रदेशसभामा कांग्रेसका २२ जना प्रदेशसभा सदस्य छन् । कूल २२ मध्ये कृष्ण यादवले १८ मत पाएका थिए । रामसरोजले भने जम्मा ४ मत पाएका थिए ।
००००
सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् । 
प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीवार निलम्बन गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।
००००
कर्णाली प्रदेश प्रमुख तिलकप्रसाद परियारले कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आह्वान गरेका छन् । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख परियारले यही पुस १८ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
००००
नवनियुक्त महान्यायाधिवक्ता डा।दिनमणि पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीवार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितिमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले डा पोखरेललाई शपथ गराए । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले डा।पोखरेललाई बुधवार महान्यायाधिवक्तामा नियुक्त गरेका थिए ।
००००
गृह मन्त्रालयले सुरक्षा निकायका कर्मचारी तथा पदाधिकारीहरूलाई नियमित कामको सिलसिलामा बाहेक अन्य समयमा नेता र कूटनीतिज्ञहरूसँग भेट्न प्रतिबन्ध लगाएको छ । भेट्नै पर्ने परिस्थितिमा पनि स्पष्ट प्रयोजन खुलाई विभागीय स्वीकृति लिएर मात्र भेट्न गृहको निर्देशन छ ।
००००
नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको मुद्दा बिहीवार हेर्न नभ्याइनेमा राखिएको छ । काठमाडौं जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दामा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश बदर गरी पाउँ भन्दै सन्दीपले उच्च अदालत पाटनमा निवेदन दिएका थिए ।
००००
शेयर बजारको मापक नेप्से परिसूचक साताको अन्तिम दिन बिहीवार ५६.८८ अंकले बढेको छ । नयाँ सरकार बनेको दिनदेखि सकारात्मक देखिएको शेयर बजार बिहीवार २.८८ प्रतिशतले बढेर २०२९.०३ अंकमा पुगेको छ ।

salt training

कमेन्ट गर्नुहोस्