
रुसले आफ्नो जलसेनामा अत्याधुनिक बोरेई क्लासको आणविक ऊर्जाबाट चल्ने पनडुब्बी बिहीवारबाट समावेश गरेको छ ।
त्यसबाहेक अन्य दुई जंगी जहाज पनि रुसी जलसेनाले उपयोग गर्ने भएको छ ।
त्यससँगै बुलाभा अन्तर्महादेशीय ब्यालिस्टिक क्षेप्यास्त्रहरू उडाउने जहाज पनि हिजैबाट पहिलोपटक प्रयोगमा ल्याउन थालिएको छ ।
यी जहाज तथा पनडुब्बीको औपचारिक सेवा आरम्भको बेग्लाबेग्लै तीन समारोह राखिएको थियो । त्यसक्रममा नयाँ जहाजहरूमा जलसेनाको झण्डा फहर्याइएको थियो ।
बोरेई क्लासको पनडुब्बी जेनेरालिस्सिमस सुभोरोभ सबभन्दा ठूलो र शक्तिशाली छ । यो रुसको जलसैन्य आणविक निवारणको मेरुदण्ड हो । यसलाई प्रशान्त बेडामा समावेश गरिनेछ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले उद्घाटन समारोहलाई मस्कोमै बसेर निर्देशन गरेका थिए । रुसले थप चारवटा यस्तै किसिमका पनडुब्बी बनाउन खोजेको पुटिनले बताए । यसले रुसलाई आगामी कैयौं दशकसम्म सुरक्षाको प्रत्याभूति दिलाउने उनले घोषणा गरे ।