२९ जेठ २०८३, शुक्रबार

तेक्वान्दो विवाद : निर्वाचनमा आउन आग्रह

तेक्वान्दो विवाद : निर्वाचनमा आउन आग्रह

राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आबद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरेर एउटै प्रकृतिका संघलाई महासंघमा आबद्ध हुन आग्रह गरेको हो ।

महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रहसमेत गरेको छ । कानूनविपरीत राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदालतमा नेपालको तेक्वान्दो संघको मुद्दा विचाराधीन रहेकै अवस्थामा महासंघले पत्रकार सम्मेलनमार्फत आफ्नो विचार स्पष्ट पारेको हो ।

गत वैशाख ९ गते बसेको राखेपको ११३औँ बोर्ड बैठकले उपाध्यक्ष शिव कोइरालाको संयोजकत्वमा संघसंस्था विवाद समिति गठन गरेको थियो । विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादितमध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार दुवै संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।

राखेपले एउटै प्रकृतिका दुई तेक्वान्दो संघलाई खारेज गर्दै नयाँ संघ गठन गरेपछि विवाद अहिले चर्किएको छ । दुईमध्येको एक संघले राखेपको निर्णयलाई स्वागत गर्दै अगाडि बढ्ने बताएको छ भने राष्ट्रिय तेक्वान्दो संघले राखेपको निर्णय कानूनविपरीत भएको भन्दै अदालतमा पुगेको हो । यस्तै आफ्ना पदाधिकारी समावेश नगरी गठन गरेको भन्दै विरोध गर्दै आएका छन् । नेपाल तेक्वादो संघले आफू खुशी तरिकाले संघ चलाएको र कुनै पनि प्रतियोगिता आयोजना नगरेको आरोप लाग्दै आएको छ ।

राखेपबाट पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्वउपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र संकटा क्लबका अध्यक्ष ईन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिइएको छ । जोशी र महासचिव तुलाधर बुधवार सातदोबाटोस्थित तेक्वान्दो कार्यलयमा बहाली गर्न जाँदा विवाद भएको थियो ।

खारेज गरिएका संघका अध्यक्ष प्रकाश समशेर राणाको नेतृत्व पदाधिकारीले तेक्वान्दो भवन छोड्न अस्वीकार गरेपछि विवाद भएको थियो । एउटा पक्ष छोड्न तयार नभएको र अर्काे पक्ष तेक्वान्दो भवन भित्र छिर्ने विवादपछि प्रहरीले कार्यालयमा ताला लगाइदिएको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो । तर त्यसको दुई दिनपछि प्रकाश समशेर राणा नेतृत्वले कार्यसञ्चालनमा बाधा भएको भनेपछि ताला खोलिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्