२९ असार २०८३, सोमबार

काठमाडौँमा आज नेपथ्यको लाइभ कन्सर्ट हुँदै

काठमाडौँमा आज नेपथ्यको लाइभ कन्सर्ट हुँदै

मानवता प्रवर्धनको उद्देश्यसहित आज शनिबार काठमाडौँको भृकुटीमण्डपमा ‘नेपथ्य लाइभ कन्सर्ट’ हुनेभएको छ । सो कन्सर्टको तयारी पूरा भएको आयोजक मानवसेवा आश्रमले जनाएको छ । रानीवनस्थित मानवसेवा आश्रममा आयोजित नेपथ्य व्याण्डका मुख्य गायक अमृत गुरुङ्सँगको शुक्रबार भएको चियापान तथा भेटघाट कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले सो कुराको जानकारी गराए । 

अध्यक्ष अधिकारीले अन्य नौ शहरमा सम्पन्न भएको कार्यक्रम शनिबार भृकुटीमण्डपमा अन्तिम कन्सर्टका रुपमा मुलुकका विशिष्ट व्यक्तिसहित करिब हजारौं दर्शकको उपस्थितिमा कार्यक्रम आयोजना हुने बताए । 

उनले सङ्गीतमार्फत मानवता प्रवर्धन गरी सडकआश्रित बेसहारा व्यक्तिलाई सडकको चिसो छिँडी र सडकपेटीमा बस्नुपर्ने अबस्थाको अन्त्यका लागि समाजमा सचेतना जगाउन एक महिने सङ्गीत अभियान चलाइएको जानकारी दिए । समारोहमा नेपथ्य व्याण्डका प्रमुख गायक अमृत गुरुङले आश्रमले जे काम गरिरहेको छ, त्यो काम धेरै मान्छेले गर्न नसक्ने बताए । यो काम कसैले गरिदिए हुन्थ्यो भनेर विगतदेखि नै आफूले सोचेको अन्तत आश्रमले गरेको थाहा पाएर खुसी लागेको उनले बताए । 

धन हुनेसँग भन्दा मन हुनेसँग मानवता रहेको उल्लेख गर्दै आश्रमको अभियानमा जे सकिन्छ सहयोग गर्न अनुरोध पनि उनले गरे । काम गर्नेहरुलाई प्रश्न उठ्ने भएकाले कसैले प्रश्न गर्दैमा नहिच्किचाइकन उनले आग्रह गरे । 

समारोहमा आश्रमका संरक्षक तथा समाजसेवी राधिका शाक्यले आश्रमको भवन निर्माणका लागि नागर्जुनमा जग्गा प्राप्त भएको तर त्यसका लागि गमन्त्रिपरिषदबाट निर्णय गराउन बाँकी रहेको बताइन् । त्यसका लागि सहयोग गर्न आग्रह गरिन् । रानीवनको भवनमा सुकुम्बासी राख्नु पर्नेमा आश्रम राखिएको भनेर केही आलोचनाहरु सुनेको स्मरण गर्दै भनिन्, “सुकुम्बासीभन्दा पनि यहाँ बस्ने मानिस झन् सुकुम्बासी हो, जसको कोही छैन, जसको केही छैन, उनीहरु बसेका छन् ।” 

नेपाल सरकारका पूर्व सचिव डा. मानबहादुर विकेले आश्रमले विस. २०८२ सम्ममा सडकआश्रित मानवमुक्त देश बनाउने लक्ष्य लिएकाले त्यो लक्ष्य पूरा भएमा नेपाल विश्वमै मानवीयताको पहिलो देश हुने बताए । अहिले मानवताका लागि सङ्गीत भनेर जुन सङ्गीत यात्रा भइरहेको छ, यसले सङ्गीतमार्फत मानवता प्रवर्धनमा एउटा नयाँ सिद्धान्त निर्माण भएको प्रतिक्रिया दिए  । 

आश्रमका प्रमुख संरक्षण डा. गोविन्द टण्डनले परोपकारी नेपालीहरुको साथ र सहयोगले नै नमूना काम गर्न सकिन्छ, विदेशीको बाटो हेरिरहनुपर्दैन भन्ने उदाहरण आश्रमले प्रस्तुत गरेको जानकारी दिए  ।

विस. २०६९ सालमा स्थापना भइ सडकका असहाय तथा बेवारिसे नागरिकको उद्धार अभियान थालेको आश्रमले हालसम्म झण्डै आठ हजार नागरिकलाई सडकबाट उद्धार गरिसकेको जनाएको छ । हाल एक हजार ६०० सडकआश्रित मानवहरु आश्रमका विभिन्न शाखाहरुमा संरक्षित छन् । झण्डै एक हजारलाई परिवारमा पुनमिलन गराइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्