
राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गठित नेपाल तेक्वान्दो महासंघले नेपालको तेक्वान्दोका सबै पक्षलाई महासंघमा आवद्ध भएर निकास खोज्न आग्रह गरेको छ । नेपाल तेक्वान्दो महासंघले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी एउटै प्रकृतिका संघलाई महासंघमा आवद्ध हुन आग्रह गरेको हो ।
महासंघले यसअघि अस्तित्वमा रहेका नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई महासंघको छातामा आउन र निर्वाचनबाट नयाँ नेतृत्वको चयनमा सहभागी हुन आग्रह गरेको छ । कानूनविपरित राखेपले संघ खारेज गरेको भन्दै सर्वोच्च अदालतमा तेक्वान्दो संघको मुद्दा विचाराधिन रहेकै अवस्थामा महासंघले सो आग्रह गरेको हो ।
गत वैशाख ९ गते बसेको राखेपको ११३ औं बोर्ड बैठकले उपाध्यक्ष शिव कोईरालाको संयोजकत्वमा संघ संस्था विवाद समिति गठन गरेको थियो । विवाद समाधानका लागि तेक्वान्दो र उसु संघका विवादित मध्येको एउटा कार्यसमितिका कुनै पनि प्रतिनिधि वार्तामा नआएका कारण समितिले ऐनअनुसार दुवै संघलाई खारेज गर्दै नेपाल तेक्वान्दो महासंघ गठन गरेको थियो ।
महासंघ गठन भएपछि विवाद चर्किएको छ । दुई मध्येको एक संघले राखेपको निर्णयलाई स्वागत गर्दै अगाडि बढ्ने बताएको छ । राष्ट्रिय तेक्वान्दो संघले राखेपको निर्णय कानूनविपरित भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको छ । नेपाल तेक्वादो संघले आपूmखुशी संघ चलाएको र कुनै पनि प्रतियोगिता आयोजना नगरेको आरोप लगाएको छ ।
राखेपबाट पुनर्गठित नेपाल तेक्वान्दो संघको अध्यक्षमा संघका पूर्व उपाध्यक्ष तथा पहिलो पुस्ताका खेलाडीसमेत रहेका प्रदीप जोशीलाई संयोजक र संकटा क्लवका अध्यक्ष ईन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । जोशी र महासचिव सातदोबाटोस्थित तेक्वान्दो कार्यलयमा बहाली गर्न जाँदा विवाद भएको थियो ।
खारेज गरिएका संघका अध्यक्ष प्रकाश समशेर राणाको नेतृत्वका पदाधिकारीले तेक्वान्दो भवन छोड्न अस्वीकार गरेपछि विवाद भएको थियो । विवाद भएपछि प्रहरीले कार्यालयमा ताला लगाएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारीको रोहबरमा दुवै पक्ष अहिले कार्यालयमा नबस्ने सहमतिपछि प्रहरीले ताला लगाएको थियो । त्यसको दुई दिनपछि नियमित काम गर्न असहज भएको भनेपछि ताला खोलिएको थियो ।