
कैलालीको टीकापुर अस्पतालले फोहोर प्रशोधन गरेर कमाइ गर्न थालेको छ ।
कैलालीमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन सबैलाई चुनौती बनिरहेको समयमा अस्पतालले १ महिनादेखि प्लाष्टिकजन्य फोहोर प्रशोधन गरेर आम्दानी लिन थालेको हो ।
अस्पतालले १ महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार रुपैयाँ आम्दानी भएको जानकारी दिएको छ ।
अस्पतालमा जडान भएका २ अटोक्लेभ मशिनमा प्लाष्टिकजन्य फोहोर प्रशोधन हुन १ घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन २ घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मशिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका) ले दिएको थियो भने अर्को मशिन विश्व स्वास्थ्य संगठनले उपलब्ध गराएको थियो ।
स्वास्थ्य संगठनकै सहयोगमा मशिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए । ‘प्लाष्टिकजन्य फोहोर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मशिन जडानपछि सहज भएको छ,’ उनले भने, ‘हामीले स्थानीय पालिकामा संकलन भएको फोहोर प्रशोधनमा पनि सघाउन सक्छौं । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौं । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौं ।’
अस्पतालमा फोहोर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रंगका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य र रगतजन्य फोहोर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रंगका बाल्टिन राखिएका छन् । सिसाजन्य फोहोर राख्नका लागि साना बाल्टिन राखिएका छन् ।
फोहोर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन् । यसरी अस्पतालमा संकलन भएको फोहोर दैनिक अस्पताल परिसरमै रहेको फोहोर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ । ‘निर्मलीकरण भएको फोहोर बिक्रीका लागि राखिन्छ । बिक्रीका लागि खासै समस्या छैन,’ अध्यक्ष सोडारी भन्छन्, ‘यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनः प्रयोगका लागि बिक्री गर्न थालेका छौं ।’