
राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिग प्रतियोगितामा जनकपुर रोयल्स विजयी भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको खेलमा जनकपुरले पोखरा एभेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै विजयी भएको हो । जीतसँगै जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै प्लेअफमा पुग्यो । ९ खेलमध्ये ६ खेलमा जीत तथा ३ खेलमा हार व्यहोरेको जनकपुरले १२ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको हो ।
प्रतियोगितमा लुम्बिनी अल स्टार पनि यसअघि नै प्लेअफमा पुगिसकेको छ । समान ९ खेल नै खेलको लुम्बिनीले ८ खेलमा जीत र १ खेलमा हार व्यहोरे पनि १६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।
बिहीवारको खेलमा पोखराले जनकपुरलाई जीतका लागि ६९ रनको चुनौती दिएको छ । जवाफमा जनकपुरले ९ ओभरमा ४ विकेट गुमाउँदै ७० रन बनायो । जनकपुरको जीतमा सराफुदिन असरर्फले सर्वाधिक ३७ रनको योगदान दिए भने ट्रभोन ग्रिफीथले १७ रन जोडे । पवन सरार्फले ४ रन जोडे भने राजेश पुलामी र असन प्रियरञ्जनले समान १/१ रन जोडे ।
बलिङतर्फ पोखराका कुशल मल्लले ३ विकेट लिए भने असिथा फर्नान्डोले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिलो व्याटिङको निम्तो पाएको पोखराले १२ ओभरमा सबै विकेट गुमाउँदै ६८ रनमा समेटियो । पोखराका लागि सिद्धान्त लोहनीले सर्वाधिक १७ रन बनाए भने आशिफ शेख र कुशल मल्लले समान १६/१६ रन जोडे । त्यसबाहेकका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
पोखरालाई कम योगफलमा समेट्नेक्रममा जनकपुरका सोमपाल कामी एक्लैले ३ विकेट लिए भने ललित राजबंशी र शराफुदिन असरर्फले समान २/२ विकेट लिए । पवन शर्राफ ट्रभोन ग्रिफिथ र जितेन्द्र मुखियाले समान १/१ विकेट झारे ।
यससँगै ९ खेल खेलेको पोखराले ३ खेलमा जीत तथा ६ खेलमा हार व्यहोर्यो । ६ अंक बटुलेको पोखरा अंक तालिकाको पाँचौं स्थानमा छ ।