
नेकपा एकीकृत समाजवादीले वामपन्थी दल र व्यक्तिसँग एकीकरणका लागि पहल गर्ने निर्णय गरेको छ । यसका लागि महासचिव बेदुराम भुसाल संयोजकत्वको कार्यदललाई सक्रिय बनाउने एसले निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बिहीवार बसेको सचिवालय बैठकले वामपन्थी एकताका लागि पहल गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । ‘वाम एकताको लागि पहल गर्ने भनेर पोलिटव्युरो बैठकबाट प्रस्ताव पारित गरेका थियौँ, त्यसको अगुवाई पार्टीले शुरुवात गर्ने निर्णय गरेका छौँ’, खतिवडाले भने ।
वाम एकताको पहलका लागि महासचिव भुसाल तथा नेताहरू गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य रहेको कार्यदललाई जिम्मा लगाइएको उनले बताए । ‘वाम एकता कार्यदलले सबै वामपन्थी दल र व्यक्तिसँग छलफल र परामर्श थाल्ने छ’, उनले भने ।