२८ जेठ २०८३, बिहीबार

कांग्रेसले राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको छैनः लेखक

कांग्रेसले राप्रपालाई प्रधानमन्त्री प्रस्ताव गरेको छैनः लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई आफ्नो पार्टीले प्रधानमन्त्रीका लागि प्रस्ताव नगरेको बताएका छन् । शुक्रवार नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीमा राप्रपालाई आफ्नो पार्टीले प्रस्ताव नगरेको प्रष्ट पारेका हुन् । 

लेखकले आफ्नो पार्टी एमाले–माओवादी केन्द्रसहितको सत्ता समीकरणलाई भत्काएर नयाँ समीकरण बनाउने काममा नलागेको पनि बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने बारेमा भने यही पुस २६ गते बिहान बस्ने पार्टी संसदीय दलको बैठकले निर्णय गर्ने जानकारी दिए । 

‘हामी यो समीकरण भत्काउने, नयाँ समीकरण बनाउने काममा लागेका छैनौँ । हाम्रो भोलि संसदीय दलको बैठक छ । त्यसपछि हामी २६ गते बिहान फेरि संसदीय दलको बैठक बस्छौँ । र, सरकारलाई विश्वासको मत दिने प्रस्तावमा हाम्रो दलको धारणा हामी २६ गतेको बिहान सार्वजनिक गर्छौैँ । अहिलेलाई यहाँले भन्नु भएको जस्तो गठबन्धन भत्काउने, नयाँ गठबन्धन बनाउने कुरा छैन । अहिले हामी हाम्रो आन्तरिक तयारीमा छौँ’, लेखकले भने, ‘हामी अब यो नयाँ प्रतिनिधिसभामा पार्टीलाई एकताबद्ध, सशक्त रूपले कसरी अगाडि लिएर जान्छौँ, हाम्रा भूमिकाहरू के हुन्छन् ? त्यसमा केन्द्रित भएर आन्तरिक तयारीमा जुटिसकेका छौँ । भोलिबाट हाम्रो पनि संसदीय दलको औपचारिक बैठकहरू शुरू हुन्छन् । अहिले पनि हामी आन्तरिक तयारी र गृहकार्य गरिरहेका छौँ । राप्रपाले के भनेछ, त्यो मलाई थाहा छैन । हामीले राप्रपालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेका छैनौँ ।’

प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेछन् । 

salt training

कमेन्ट गर्नुहोस्