![रविको नागरिकतासम्बन्धी मुद्दाको पूर्ण सुनुवाइ माघ ११ मा [आदेशसहित]](https://lktcdn2.prixacdn.net/media/Rabi_lamichhane_TPayFy8gOE.jpg)
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दा आगामी माघ ११ गते पूर्ण सुनुवाई हुने भएको छ । शुक्रवार संवैधानिक इजलासमा भएको सुनुवाईले उक्त मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै माघ ११ गते पूर्ण सुनुवाईमा पेश गर्न आदेश दिएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मलित संवैधानिक इजलासले रविको मुद्दालाई अग्राधिकार प्रदान गरेको छ ।
युवराज पौडेललगायतले मन्त्री लामिछाने नेपाली नागरिक नभएकाले सांसद बन्न अयोग्य रहेको भन्दै रिट दायर गरेका थिए । रिटमा लामिछानेको सांसद पदसहित उनी नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै अन्तरिम आदेश माग गरिएको थियो । तर, संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
यससँगै रविलाई मन्त्री र सांसदका रूपमा काम गरिरहन बाटो खुलेको छ ।

