०३ असार २०८३, बुधबार

पानी भनेर स्कूलले स्प्रिट खुवाउँदा छात्राको मृत्यु, स्थिति तनावग्रस्त

पानी भनेर स्कूलले स्प्रिट खुवाउँदा छात्राको मृत्यु, स्थिति तनावग्रस्त

सिरहाको मिर्चैया-३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

शुक्रबार विद्यालयमा छँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर बिरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो ।  

शनिबार राति १२ बजे उपचारको क्रममा फूलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् । आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नाराबाजी समेत गरेका थिए ।

आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाँच राउन्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए ।

गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए ।

स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचार नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्‍याएकाले समयमै उपचार हुन नसकेको उनले बताए ।

'प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीबेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्‍यौं', उनले भने, 'अवस्था खराब हुँदै गएपछि अस्पताल पुर्‍यायौँ तर ढिला भइसकेको रहेछ ।”

दुईजना प्रहरी नियन्त्रणमा

प्रहरीले औषधि दिने शिक्षिका अम्बिका लम्साल र प्रिन्सिपल प्रदीप तिवारीलाई नियन्त्रणमा लिएको छ ।

मृतकका बुवा धर्मेन्द्रले दोषिमाथि कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका छन् । जाहेरी दिएपछि प्रहरीले अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको हो ।
    
डीएसपी वलीले घटना सम्बन्धमा छानबिन भइरहेको बताए । 'विद्यालयले पनि घटना स्वीकार गरिसकेको छ, स्प्रिट पिउने अवस्था कसरी भयो भन्ने विषयमा अनुसन्धान जारी छ', उनले भने । रासस

 

salt training

कमेन्ट गर्नुहोस्