२१ असार २०८३, आइतबार

उपत्यकामा ३ हजार २३१ सीसीटीभीबाट निगरानी गर्दै प्रहरी

उपत्यकामा ३ हजार २३१ सीसीटीभीबाट निगरानी गर्दै प्रहरी

गत साउन २४ गते दिउँसो काठमाडौंको लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा नफर्किएको र सम्पर्कविहीन भएको सूचना प्राप्त भएपश्चात काठमाडौं उपत्यका प्रहरी कार्यालयको सीसीटीभी मनिटरिङबाट उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लगाई चालकलाई सोधपुछ र अनुसन्धान गर्दा किशोरीलाई फेला पार्न प्रहरी सफल भयो ।

गत भदौ २० गते दिउँसो काठमाडौंको पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा मिरा लामाको ५० हजार रुपैयाँ हराएकोमा सीसीटीभी मनिटरिङबाट बिभिन्न क्यामेरा फलोअप गर्दा पुतलीसडकको क्यामेरामा १ मोटरसाइकल चालकले टिपी लगेको देखिएपश्चात चालकलाई झिकाई रकम महिलालाई फिर्ता दिलाउन प्रहरी सफल भयो ।

विदेश जानका लागि गत मंसिर १७ गते सिरहाबाट कोटेश्वर आई नम्बर नखुलेको भाडाको बसमा कोटेश्वरदेखि कलंकी खसीबजारसम्म जाने क्रममा सिरहाका २८ वर्षीय पाण्डव दोङको नगद २ लाख रुपैयाँ र मोबाइल १ थान सहितको झोला छुटेकोमा सीसीटीभी मनिटरिङबाट विभिन्न क्यामरा फलोअप गर्दा कलंकी खसीबजारमा पीडित ओर्लिएको गाडी नम्बर पत्ता लगाई चालकलाई सम्पर्कमा ल्याएर पीडितलाई नगद सहितको झोला बुझाउन प्रहरी सफल भयो ।

यी त केही प्रतिनिधि घटना हुन् । यसरी काठमाडौं उपत्यका प्रहरी कार्यालयको सीसीटीभी मनिटरिङ कक्षमा दैनिक विभिन्न प्रकारका घटनाहरूको निगरानी गर्न तथा घटिसकेका घटनाहरूको फुटेज पहिचान गरी विश्लेषण गर्न त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरू तल्लीन हुन्छन् । सीसीटीभी मनिटरिङ कक्षले पिकआवरमा हुने दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा पसेर हुलदंगा गर्ने समूहलाई निगरानी गरी प्रभावकारी प्रहरी परिचालन गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यकामा सीसीटीभी क्यामेराको बढ्दो प्रयोगले विभिन्न प्रकारका आपराधिक तथा गैरकानूनी कार्यलाई नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने गरेको छ । उपत्यकाका मुख्य–मुख्य सडकहरू र महत्त्वपूर्ण स्थानहरूमा अपराध अनुसन्धान, नियन्त्रण, न्यूनीकरण तथा रोकथामका साथै ट्राफिक व्यवस्थापनका निमित्त सीसीटीभी क्यामेराको प्रभावकारिता बढ्दै गएको छ । 

नेपाल प्रहरीले आफ्नै अप्टिकल फाइबर प्रयोग गरी २०६३ सालमा जम्मा ११ वटा क्यामेरामार्फत प्रहरी कन्ट्रोल रुमबाट मनिटरिङ गर्दै आएकोमा हाल आईपी क्यामराहरू १०५१ वटा रहेका र उपत्यका प्रहरी कार्यालयका मातहत कार्यालयमा समेत गरी जम्मा ३ हजार २३१ वटा क्यामेराहरू सञ्चालित रहेका प्रहरीले जनाएको छ ।

कुनै पनि सवारी दुर्घटना वा घटनापश्चात पीडितले सीसीटीभी फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ । ‘निवेदन प्राप्तपश्चात सम्बन्धित प्रहरी कार्यालयले सीसीटीभी फुटेज प्राप्तिका लागि कारणसहित काठमाडौं उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरेपश्चात मात्र कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ,’ प्रहरी स्रोतले भन्यो, ‘कतिपय अवस्थामा पीडित आफैं काठमाडौं उपत्यका प्रहरी कार्यालयमा उपस्थित भई सीसीटीभी फुटेज हेर्न चाहेमा घटनाको गाम्भिर्यताका आधारमा फुटेज देखाई घटना अनुसन्धानमा सहयोगी हुने अवस्थामा सम्बन्धित प्रहरी कार्यालयमा फुटेज उपलब्ध गराउने गरिन्छ ।’

गत आर्थिक वर्ष २०७८/०७९ मा काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट सवारी दुर्घटना, सामान छुटेको/हराएको, चोरी, लुटपाट, सवारीसाधन हराएको, मानिस हराएको लगायत अन्य विभिन्न घटनाहरूमा कूल २१७६ र चालू आर्थिक वर्षको पहिलो ४ महिना मंसिर मसान्तसम्म ८६८ फुटेज माग भएकोमा गत वर्ष १ हजार २६४ र चालू आर्थिक वर्षमा ४६२ फुटेजहरू उपलब्ध गराइएको छ । 

फुटेजहरूका आधारमा गत वर्ष ७८२ र चालू आर्थिक वर्षमा २६८ वटा घटनामा फुटेजको सहायताले घटना अनुसन्धान गरी निचोडमा पुग्न प्रहरी सफल भएको छ । आर्थिक वर्ष ०७८/०८९ मा उपलब्ध गराइएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लंघन गरी फरार ७ हजार ४०७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही ३ हजार ८४० जना र चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म ट्राफिक नियम उल्लंघन गरी फरार ३ हजार ९८७ जना, ट्राफिक लेन/फिल्ड अनुशासन कारबाही १ हजार ८५७ जनालाई सीसीटीभीकै आधारमा पहिचान तथा फलोअप गरी कारवाहीको दायरामा ल्याउन प्रहरी सफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्