मंसिर ३०, २०८०
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
तपाईंहरूले ‘साबर छाला’को नाम पक्कै सुन्नुभएको होला । लोक सेवा आयोगका परीक्षाको तयारीका लागि त यो नछुटाउने प्रश्न हो ।
सामान्य ज्ञानका संग्रहहरूमा एउटा यस्तो प्रश्नोत्तर समावेश गरिएको पाइन्छ – दैलेख केका लागि प्रख्यात छ ? उत्तर हुन्छ – साबर छाला ।
यही ‘साबर छाला’लाई दैलेखका अल्पसंख्यक सार्की समुदायले उत्पादन र बजारीकरण गर्दै आएका छन् । यो उनीहरूको पुर्ख्यौली शिल्पकला हो । अचेल सीमित परिवारले मात्र यसको प्रशोधन, उत्पादन र बिक्री गर्दै आएका छन् ।
साबर विशेषगरी मृगको छालाबाट तयार हुन्छ । मृग संरक्षित वन्यजन्तुको सूचीमा समावेश भएपछि पछिल्लो समय अन्य जनावरको छालाबाट समेत साबर तयार गर्ने गरिन्छ तर खासमा मृग, हरिणको छालाबाट बनेको साबर उत्कृष्ट हुन्छ । जुन अक्सर पहेंलो, गेरुवा रातो, कलेजी रंगको हुन्छ । हेर्दा मौलिक, आकर्षक र बास्नादार हुन्छ ।
शिकार वा कालगतिले मरेका पशुचौपाया सिनो बन्नुअघि छाला निकालिन्छ । छालाको रौं, दुर्गन्ध नष्ट गरी साबरको रूप दिन लामो समय खाल्डोमा राखिन्छ । त्यसरी तयार भएको छालाबाट सार्की समुदायले विभिन्न डिजाइनका जुत्ता, चप्पलका साथै कम्मरमा बाँध्ने पेटी, पर्स तयार गर्ने गर्दछन् । जुन बजारमा आयातित छालाभन्दा निकै आकर्षक, बलियो एवं गुणस्तरीय हुन्छ । लामो समयदेखि साबर छालाको उत्पादन र यसबाट जुत्ता–चप्पल तयार गरेर बेच्दै आएका व्यक्ति हुन् दैलेखको नारायण नगरपालिका–१ पुरानोबजार भगवती टोलका इन्द्रबहादुर सार्की । पसलको नाम ‘बयलकोटी शुज सेन्टर’ हुँदा धेरैले उनलाई इन्द्र बलयकोटी भनेर चिन्छन् । पछिल्लो समय पुरानोबजारका सार्की समुदायले आफ्नो थर सार्कीको साटो बयलकोटी लेख्न थालेका छन् ।
दैलेखमा साबर छालाको व्यवसाय गर्ने अरु व्यक्ति नभएका होइनन् तर इन्द्रबहादुर जति यो कर्मलाई निरन्तरता, बजारीकरण र ब्रान्डिङ गर्न अरुले सकेनन् । स्थानीय छालाजुत्ता उत्पादनमा उनी अग्रपंक्तिमा आउँछन् । उनले सिकाएका थुपै्र कालीगढले दैलेख, कालीकोट, जुम्ला, सुर्खेत र काठमाडौंमा जुत्ता पसलमा काम गरिरहेका छन् ।
‘अन्य छालाबाट पनि जुत्ता–चप्पल तयार गर्छु तर साबर छालाको विशेष माग हुन्छ, भीआईपीका लागि अर्डर आउँछ, त्यसैले साबरको जुत्ता–चप्पल सिलाउनमै समय बित्छ,’ उनी भन्छन्, ‘हेर्दा राम्रो, बलियो र बास्नादार हुने हुँदा सबैले मन पराउँछन्, यसमा पालिस पनि लाउनुपर्दैन ।’
प्रधानमन्त्रीको पनि ‘अर्डर’
इन्द्रबहादुरले तयार गरेका जुत्ता जिल्लामा आउने हाकिमहरूदेखि प्रधानमन्त्रीसम्मले लगाएका छन् । हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराईलाई आफूले उत्पादन गरेको साबरको जुत्ता लगाएको बताउँछन् । ‘देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा जिल्लाकै एक जना कांग्रेस नेताले जुत्ता अर्डर गर्नुभयो, मेरो पनि काठमाडौं जाने काम थियो, म पनि उहाँसँगै प्रधानमन्त्री निवासमा गएँ, जुत्ता देखेर उहाँ निकै खुशी हुनुभो,’ उनी सुनाउँछन्, ‘फेरि पनि अर्डर गर्छु भन्नुभो, धन्यवाद दिनुभयो ।’ त्यसपछिका प्रायः सबै प्रधानमन्त्री र मन्त्रीहरूले जुत्ता अर्डर गर्ने गरेका छन् । ‘अहिले पनि काठमाडौंबाट अर्डर आइरहेको छ, बनाउँदैछु, औपचारिक सभा–समारोह र विदेश भ्रमणमा जाँदा भीआईपीले यसप्रकारको जुत्तालाई बढी प्रयोग गर्दछन्,’ उनी भन्छन् । ‘दैलेखी शुज’ नाम दिएर उनले जुत्ता चप्पलको ब्रान्डिङ गर्दै आएका छन् ।
अनि जुम्ला पुगे
इन्द्रबहादुर ८ वर्षको हुँदा बुवा बुँदे सार्कीको २०२७ सालमा निधन भयो । त्यतिबेला जुत्ता–चप्पल लगाउन सक्ने आर्थिक हैसियत प्रायः कसैको हुन्थेन । जिल्ला बाहिरबाट छाला आयात हुने गरी यातायात र बजारको पनि विकास भएको थिएन । स्थानीय छालाबाट झोला, जुत्ता, चप्पल सिउनु सार्की समुदायको पुख्र्यौली पेशा थियो । बुवाको निधनपछि परिवार पाल्न उनलाई समस्या भयो । केही सरकारी अड्डाबाहेक दैलेख सदरमुकाममा बजारको विकास भइसकेको थिएन ।
सुर्खेतसँग पनि दैलेखको यातायात सम्बन्ध जोडिएको थिएन । वीरेन्द्रनगर उपत्यकामा बस्ती बाक्लो भइसकेको थिएन । त्यसैले इन्द्रबहादुर दैलेख बजारको उत्तरी बाटो हुँदै जुम्ला पुग्ने निधो गरे । यो २०४० वैशाखको कुरा हो । छालासहित ४ जना भरिया लिएर ४ दिनको पैदल यात्रा गर्दै उनी खलंगा पुगे ।
जुम्लाको खलंगामा बाटो छेउमा जुत्ता सिलाउन थाले । जुम्लामा अञ्चल कार्यालय हुँदा दैलेखभन्दा अलि चहलपहल बढी थियो । त्यहाँ जुत्ता सिलाउने स्थानीय कोही रहेनछन् । ‘दैलेखबाट जुत्ता सिलाउने सार्की आएको छ’ भन्ने हल्ला बिस्तारै फैलिन थाल्यो । यो सुनेपछि अञ्चलाधीशबाट बोलावट भयो ।
त्यस क्षणको स्मरण गर्दै उनी भन्छन्, ‘अञ्चलाधीश कार्यालयमा गएर नापो लिएर फर्कें, १ दिनमै तयार गरी बुझाएँ, यति छिट्टै कति राम्रो जुत्ता सिलाएको भन्दै स्याबासी दिए, अञ्चलाधीशले मूल्य सोधें, अरुलाई ८०० रुपैयाँमा बेच्दै आएको छु, श्रीमान्बाट ५०० मर्जी होस् भनें, उनले सुब्बालाई ५० थपेर ५५० रुपैयाँ दिन भनें, मैले पैसाभन्दा चामलको कुपन पाउँ श्रीमान्, मत यहाँ भोकै बस्नुपर्ने बाध्यता छ भनें, चामलको अभाव थियो ।
सर्वसाधारणलाई कुपन पाउन धेरै मुस्किल थियो । चामल नपाउँदा दैलेख फर्कनुपर्ने अवस्था बताएपछि अञ्चलाधीशले ‘यति राम्रो सीप भएको मान्छेले किन जुम्ला छाड्ने’ भन्दै ५० केजीको कुपन बनाइदिनुभो । त्यसपछि केही वर्ष त्यहाँ बसें ।
जुम्लाका खेलाडीहरू काठमाडौं र विदेशमा खेल खेल्न गइरहन्थे । उनीहरूका लागि सिलाएको जुत्ता राम्रो उपयोगी हुन्थ्यो । अञ्चल कार्यालय र खेलाडी बढी भएको जिल्ला भएकाले दैलेखभन्दा जुम्लामा जुत्ताको ‘मार्केट’ राम्रो थियो । हवाईजहाजबाट छाला मगाउनुपर्ने भएकाले भाडा महंगो हुन थाल्यो । दैलेखबाट पनि भरियामार्फत कच्चा पदार्थ ढुवानी गर्न समस्या भएपछि २०४५ सालमा फर्किएँ ।’
२०४६ वैशाखदेखि दैलेख बजारमा इन्द्रबहादुरले पसल खोलेर छाला जुत्ताको व्यवसाय शुरूआत गरेका हुन् । दैलेख बजारमा पसल खोल्दा जिल्लामा सरुवा भएर आउने न्यायाधीश, सीडीओदेखि कार्यालयका हाकिम, कर्मचारी समेतलाई जुत्ता सिलाउन भ्याइँनभ्याइँ हुन्थ्यो । कर्मचारीको सरुवा–बढुवा हुँदा अहिले पनि उपहार स्वरूप यही जुत्ता लैजाने प्रचलन छ ।
उनी भन्छन्, ‘साबर दैलेखको पहिचान हो, यस्तो छालाबाट अन्यत्र जुत्ता तयार हुँदैन, बजारबाट आयातित छालाको भन्दा धेरै गुणा राम्रो र टिकाउ हुने हुँदा धेरैले रुचाउँछन्, कोशेलीका रूपमा साबरको जुत्ता लैजाने प्रचलन छ ।’
राष्ट्रिय पुरस्कार पाउँदा बधाईको ओइरो
२०५१ सालमा दैलेख बजारस्थित पसलमा जिल्ला घरेलु कार्यालयका हाकिम आए । उनले बनाएका जुत्ता–चप्पल लगायतका सरसामान हेरे । अनि भने, ‘राम्रो जुत्ता, चप्पल बनाएर काठमाठौं जानुस् प्रदर्शनीमा स्टल रोकिराखेका छौं, तपाईंले पैसा तिर्नुपर्दैन ।’ हाकिमको प्रस्ताव इन्द्रबहादुरलाई ठीकै लाग्यो । पैसाको जोहो गरी उनी सुर्खेततर्फ हिँडे ।
त्यतिबेला दैलेख–सुर्खेत जोड्ने सडक थिएन । सुर्खेत बसपार्कमा काठमाडौं जाने गाडी प्रस्थान गर्दै थियो । ‘गाडीमै बसेर टिकट लिएँ । भोलिपल्ट गाडीले बसपार्क पुर्यायो । त्यतिबेलाको बसपार्क (अहिलेको पुरानो बसपार्क) बाट भृकुटीमण्डप नजिकै भएकाले कतै अल्मलिनुपरेन, समयमै पुगें,’ उनले भने, ‘प्रदर्शनीस्थलमा दैलेखको स्टल खाली थियो । सामान राखें । ३ दिने प्रदर्शनीमा २ दिनमै सामान बेचेर सकियो । सबैले मन पराए । साबर छालाको जुत्ता, चप्पल, पर्स, बेल्ट, सिलाएको थिएँ । प्रदर्शनी समापनमा पहिलो पुरस्कार पाउन सफल भएँ । प्रमाणपत्रसहित नगद ५ हजार पुरस्कार पाएँ । बाटो खर्च ३ हजार ७०० रुपैयाँ दिएको थियो । काठमाडौंबाट २ जना कालीगढ पनि ल्याएर जिल्ला फर्किएँ । १ जना ११ वर्ष र अर्का १ जनाले ६ वर्ष बसेर पसलमा काम गरे । उनीहरूले पनि थप सीप सिकेर गएँ ।’
प्रदर्शनीमा इन्द्रबहादुर सार्की सर्वोत्कृष्ट उद्यमी भएको समाचार रेडियो नेपालले प्रसारण गर्यो । ‘जिल्लातिर सबैले सुनेछन्, फर्किंदा त सबैले बधाई दिए, जिल्लाको नाम राख्नुभो भनेर सबैले स्याबासी दिए,’ उनी भन्छन्, ।
काठमाडौंमा पुरस्कार पाएको पैसाले उनले आधा तोला सुनको औंठी किनेर लगाए । त्यतिबेला सुन प्रतितोला ९ हजार रुपैयाँ थियो । उनी भन्छन्, ‘दैलेखमा आफ्नो टोलमा सुनको औंठी लगाउने म मात्रै थिएँ ।’
इन्द्रबहादुरले २०७५ सालदेखि वीरेन्द्रनगर–६ मा पसल विस्तार गरेका छन् । संघीयताले दैलेख सदरमुकामको बजार ओरालो लागेपछि उनले नयाँ व्यावसायिक गन्तव्य सुर्खेत रोजेका हुन् । वीरेन्द्रनगर–४ मा झण्डै १ करोड लगानीमा दैलेखी छालाजुत्ता उद्योग खोलेका छन् ।
दैलेख बजारको पसल छोरा कमल र सुर्खेतमा छोरा शंकरले साथ दिइरहेका छन् । अहिले उनले साबरको बुट जुत्ता ४ हजार र हाफ जुत्ता ३ हजार मूल्यमा बिक्री गर्दै आएका छन् । छाला जुत्ता व्यवसायबाटै ७ जनाको परिवारको पालनपोषण गर्दै आएका छन् ।
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...