२२ असार २०८३, सोमबार

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग

मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग

नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले मिटरजडित ट्याक्सीमा स्वचालित भाडा लागू गर्न माग गरेको छ । आफूहरुको व्यवसाय र लगानीको सूरक्षा नभएको भन्दै संघले आपत्ति जनाएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चालक समाजले राज्यले ट्याक्सी व्यवसायीलाई बन्धक बनाएको आरोप लगाएको हो ।

संघले १६ बुँदे मागहरु सार्वजनिक गर्दै  एकद््वार कर प्रणाली लागू गर्न पनि चालक समाजले सरकारसमक्ष आग्रह गरेको छ । महानगर वा सरकारले एप बनाएर ट्याक्सी सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । पेशा–व्यवसायका क्रममा विभिन्न मितिमा हत्या गरिएका र कुटपिट गरी घाइते बनाइएका ट्याक्सी व्यवसायीको न्यायका लागि सरकारको ध्यानाकर्षण गरेको छ ।

चालकले लगाउनु पर्ने पहेलो ज्याकेटलाई हटाउनु पर्ने, इम्बोस नम्बरमा नेपाली भाषाको प्रयोग गरिनुपर्ने लगायतका माग समाजलले राखेको छ । चालक समाजका संस्थापक अध्यक्ष सानु पूर्वछानेले अहिलेसम्म विभिन्न समयमा ४३ जना ट्याक्सी चालकको हत्या भएको बताए । उनीहरुको हत्यारा पहिचान गरी तत्काल कारबाही गर्न सरकारसमक्ष माग गरे । त्यसैगरी, इम्बोस्ड नम्बरमा राज्यले गरेको व्यवस्था आफूहरु मान्न तयार नरहेको उनको भनाइ छ । 

‘हामीलाई इम्बोस्ड नम्बर भनेर राज्यले कालो धब्बा लगाउन खोजेको छ । हामी पहेँलो प्लेटको नम्बर मान्दैनौं । नेपाल र नेपालको संवत् र देवनागरीमा जीपीएस फिट गरिएको नम्बर चाहिन्छ,’ उनले भने । माग पुरा नभए सम्पूर्ण सवारी साधन टुँडिखेलमा लगेर थुपारिदिने  उनले चेतावनी दिए । 

अर्का वक्ता तारा बरालले यातायात व्यवसायीलाई बीमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको आरोप लगाइन् । प्राइभेट अस्पतालले सेटिङमा एम्बुलेन्स चालकसँग विरामी किनबेच गर्ने गरेको र सेटिङको आधारमा एम्बुलेन्स चालक र ट्राफिकले दुर्घटनामा घाइते भएकालाई प्राइभेट अस्पतालमा लग्नेगरेको उनको आरोप छ । 

साझा नेपाल केन्द्रीय महासंघका अध्यक्ष किरण नेपालले वार्ता, संवादको आधारमा समस्याको समाधान चाहेको बताए । सरकारले यातायात व्यवसायीको मागहरु नसुनेमा सडक आन्दोलनका लागि आफूहरु तयार रहेको बताए ।

चालक समाजका केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठले यातायातको क्षेत्रमा विकृति बढेको र आफूहरुले यातायात व्यवसायलाई मर्यादित बनाउन चाहे पनि सरकारको निरिहताले सम्भव नभएको बताए । 

राज्यले कसैलाई असमान व्यवहार गर्न नहुने उनको माग छ । सरकार अभिभावक भएकाले नागरिक र व्यवसायीप्रति उत्तिकै उत्तरदायी हुनुपर्ने उनको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्