
पोखरामा आइतवार भएको विमान दुर्घटनाबारे अनुसन्धान गर्न सरकारले ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
मन्त्रिपरिषद्को आइतवारको आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको हो ।
गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली- २०७१ अनुसार गठित आयोगको सदस्यमा नेपाली सेनाबाट अवकाशप्राप्त उपरथि दीपकप्रकाश बास्तोला, क्याप्टेन तथा हवाई विज्ञ सुनिल थापा, हवाई मेन्टिनेन्स इन्जिनियर टेकराज थापा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । लामिछाने सदस्य सचिव हुन् ।
दुर्घटनाबारे छानबिन गरी सुझावसहितको प्रतिवेदन पेश गर्नका लागि ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता समेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै दिवंगतहरूमा श्रद्धाञ्जली र परिवारजनमा समवेदना पनि अर्पण गरेको छ ।
दुर्घटनामा भएको मानवीय क्षतिको शोकमा भोलि एक दिन सार्वजनिक बिदा दिने निर्णय पनि भएको उनले बताए ।
बैठकले दुर्घटनाबारे विश्वसनीय सूचनाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने, मृतकको पार्थिव शरीर परिवारजनले लैजाने व्यवस्थाका लागि आवश्यक प्रबन्ध गर्ने निर्णय पनि गरेको मन्त्री पौडेलले बताए ।