२९ जेठ २०८३, शुक्रबार

रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

रभुँवाघाटमा माघे सङ्क्रान्ति मेला

खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने ऐतिहासिकस्थल रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको मेला लागेको छ । खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने रभुँवाघाटस्थित दूधकोसी किनारमा माघे सङ्क्रान्तिको अवसरमा पाँच दिनसम्म मेला लाग्नेछ । 

माघे सङ्क्रान्तिको अवसरमा दूधकोसीमा मकर नुहाउने र मेला भर्ने हजारौँ मानिसको भीड लाग्ने गरेको स्थानीय बासिन्दा एवं व्यवसायी बाबुराम जोशीले बताए । रभुँवाघाटको ऐतिहासिक मेलामा खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय थोकवस्तुको विनिमय गर्ने माध्यमका रुपमा परिचित छ । 

कोरोना भाइरसको सङ्क्रमणका कारण तीन वर्ष स्थगित गरिएको माघे सङ्क्रान्ति मेला यस वर्ष लगाइएको बजार व्यवस्थापन समितिका संयोजक एवं लामीडाँडाका वडासदस्य सोमबहादुर माझीले बताए । चार वर्षपछि लगाइएको मेला विगतको तुलनामा बृहत् भएको प्रत्यक्षदर्शीले बताए । 

ऐतिहासिकस्थल रभुँवाघाटमा माघे सङ्क्रान्तिको अवसर पारेर विसं २००७ भन्दाअघिदेखि मेला लाग्दैआएको स्थानीयको भनाइ छ । खोटाङको भू–भागमा पर्ने लामीडाँडास्थित रभुँवाघाटमा माघे सङ्क्रान्ति र हरिबोधिनी एकादशीमा दुई पटक ठूलो मेला लाग्दैआएको छ । 

मेलालाई व्यवस्थित गर्न र आपराधिक क्रियाकलाप हुन नदिन खोटाङ र ओखलढुङ्गाको प्रहरी परिचालन गरिएको लामीडाँडाका वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिए । “पाँच दिनसम्म लाग्ने अस्थायी मेलामा स्थानीय बासिन्दाले मनोरञ्जनका कार्यक्रमसमेत राख्ने गरेका छन्”, उनले भने, “रमाइलो गर्नेक्रममा झैझगडा हुनुका साथै आपराधिक क्रियाकलाप हुन सक्ने सम्भावनालाई ध्यानमा राखेर दुवै जिल्लाका प्रशासनसँग समन्वय गरी प्रहरी परिचालन गरिएको हो ।”

खोटाङ र ओखलढुङ्गाका स्थानीय बासिन्दाको व्यापारिक केन्द्रसमेत रहेको ऐतिहासिकस्थल रभुँवाघाटको अस्तित्व अबको केही वर्षपछि नामेट हुने भएको छ । रभुँवाघाटबाट छ सय ३५ मेगावाट क्षमताको दूधकोसी जलाशययुक्त जलविधुत आयोजना सञ्चालन हुँदैछ । 

आयोजनाबाट खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु तीन जिल्लाका एक हजार एक सय ५० घरधुरी प्रभावित हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ । खोटाङका छ सय ५७, ओखलढुङ्गाका चार सय ७९ र सोलुखुम्बुका १४ गरी एक हजार एक सय ५० घरधुरी प्रभावित हुनेभएका छन् । दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि नेपाल सरकारले यस वर्ष करिब एक करोड बजेट विनियोजन गरेको छ । 

जापान सरकारको सहयोगमा कोसी बेसिन अध्ययन गुरुयोजना अन्तरगत विसं २०४२ मा पहिचान भएको दूधकोसी जलाशययुक्त जलविधुत आयोजना लामो समयपछि उत्पादनको प्रक्रिया शुरु भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । दूधकोसी जलाशययुक्त जलविधुत आयोजना सञ्चालनमा आएपछि विधुतीय  सेवासँगै रभुँवाबजारमा बन्ने करिब दुई सय २० मिटर गहिरो दूधकोसी जलाशयमा डुङ्गा सयर, माछा पालन तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्