
पश्चिम नवलपरासीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
दुर्घटनामा कारचालक अर्घाखाँची स्थायी घर भई हाल कपिलवस्तुको वाणगंगा नगरपालिका–८ मधुवन बस्ने ३६ वर्षीय इन्द्रमणि पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेयले जानकारी दिए ।
गम्भीर घाइते भएका पौडेललाई उपचारका लागि परासीस्थित पृथ्वीचन्द्र अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
परासी–भूमही सडकखण्डअन्तर्गत सुनवल–१२ भूमहीमा लु २ ख १२२६ नम्बरको बस र वाग्मती प्रदेश ०१–०२५ च ३८९७ नम्बरको कार आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते हुनेहरूमा कारमा सवार कपिलवस्तु वाणगंगा–८ मधुवनका ३१ वर्षीय पूर्ण बहादुर राना, सोही ठाउँका २८ वर्षीय मनोजकुमार परियार, नवलपरासी (पूर्व) बुलिङटार गाउँपालिकाका २८ वर्षीय गंगा गोदामी, नवलपरासी (पूर्व) कावासोती नगरपालिकाका १८ वर्षीय डलबहादुर बराल र अर्घाखाँची शीतगंगा नगरपालिका–६ स्थायी घर भई हाल रुपन्देहीको सालझण्डी बस्ने ३८ वर्षीय खेमबहादुर रेश्मी रहेका छन् ।
बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । बसमा सवार यात्रुहरू भने सबै सकुशल रहेका प्रहरीले जनाएको छ ।