२१ जेठ २०८३, बिहीबार
युक्रेन युद्ध

​युक्रेनमा भएको दुर्घटनामा प्रश्न– आफैं खस्यो कि खसाइयो गृहमन्त्री चढेको हेलिकप्टर ?

माघ ५, २०७९
​युक्रेनमा भएको दुर्घटनामा प्रश्न– आफैं खस्यो कि खसाइयो गृहमन्त्री चढेको हेलिकप्टर ?
Photo Twitter

युक्रेन युद्ध शुरू भएको एक वर्ष पुग्न लाग्दा त्रासदीका अनेकौं घटना भएका छन् । 

पछिल्लो घटनाका रूपमा बुधवार (१८ जनवरी) मा युक्रेनको राजधानी किएभभन्दा आठ किलोमिटर उत्तरपूर्वमा रहेको ब्रोभरी शहरमा एक हेलिकप्टर दुर्घटनामा परेको छ । त्यसमा देशका गृहमन्त्री डेनिस मोनास्तिर्स्की सहित १८ जनाको मृत्यु भएको छ । 

राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले यो घटना युद्धकै एक परिणाम भएको भनी स्विट्जरल्यान्डको डाभोसमा चलिरहेको वर्ल्ड इकोनोमिक फोरमको बैठकमा बताएका छन् । 

उनले सिधासिधा यो घटना हुनुमा रुसीहरूले गरेको प्रहार जिम्मेवार रहेको त भनेनन् । तर रुसीहरूको सैन्य गुप्तचर समूह स्पेत्जनाजको एक टोलीले यो घटना गराएको हुन सक्ने अनुमान पनि कतिपयले गरिरहेका छन् । युक्रेन सरकारले घटनाको अनुसन्धान गरिरहेको छ ।

अनि यसमा युक्रेनीकै हात हुन सक्ने अनुमान पनि गरिएको छ । टेलिग्राममा एक युक्रेनी सञ्चारमाध्यमले दिएको खबरमा घटनाका प्रत्यक्षदर्शीको भनाइ उद्धृत गरिएको छ । उनका अनुसार, यो हेलिकप्टर बच्चाहरूले पढ्ने किन्डरगार्टन र एक आवासीय भवनमा ठोकिनुअघि हावामा फनफनी घुमिरहेको र त्यसमा आगो बलिरहेको देखिएको थियो ।

ती प्रत्यक्षदर्शीले बताएको कुरा सही हो भने पाइलटको गल्तीले वा हेलिकप्टरमा कुनै प्राविधिक गडबडी आएकाले दुर्घटना भएको हैन । त्यसमा कुनै क्षेप्यास्त्र प्रहार भएको हुन सक्छ । 

माथि उल्लेख गरिएअनुसार, कि त रुसीहरूले त्यो क्षेप्यास्त्र प्रहार गरेको हुनुपर्छ कि त युक्रेनी स्वयंले यो काम गरेको हुनुपर्छ । 

एकथरी सैन्य विश्लेषकहरूले हेलिकप्टरमा जमीनबाट आकाशमा मार हान्ने स्टिंगर क्षेप्यास्त्र प्रहार भएको छनक पाइने बताएका छन् । अमेरिकाले बनाएको उक्त क्षेप्यास्त्र युक्रेनको कालो बजारमा छ्यापछ्यापती पाइने गरेको बताइन्छ । आफूले युक्रेनलाई दिएको हतियार सहयोगको हरहिसाब राख्न नसकेको अमेरिकी अधिकारीहरूले यसअघि नै स्वीकार गरिसकेका छन् ।  

‘ह्याकर डीपीआर जोकर’ छद्मनाम भएका रुससमर्थक एक टेलिग्राम प्रयोगकर्ताले यस घटनाको सनसनीपूर्ण व्याख्या गरेका छन् । त्यस व्याख्यालाई जस्ताको त्यस्तै पत्याउन त सकिँदैन तर घटनालाई हेर्ने त्यो एउटा कोण चाहिँ हो ।

उनका अनुसार, ब्रोभरीमा भएको घटना युक्रेनका दुई मन्त्रालयबीचको तनावको परिणाम हो । त्यहाँको रक्षा मन्त्रालयले पश्चिमबाट सहायताका रूपमा प्राप्त हतियार तेस्रो पक्षलाई बेच्ने गरेको छ । सरकारी तहमा हुने भ्रष्टाचारका लागि युक्रेन धेरै पहिलेदेखि नै बदनाम रहिआएको छ ।

रक्षा मन्त्रालयको प्रमुख गुप्तचर निर्देशनालय (जीयूआर) का प्रमुख किरिलो बुदानोभले पश्चिमी हतियार तेस्रो पक्षलाई बेच्ने कामको सुपरिवेक्षण गर्ने गरेको कुरा गृह मन्त्रालयले पनि थाहा पाएको थियो । 

त्यसपछि गृह मन्त्रालयका शीर्ष अधिकारीहरूले पनि यसमा भाग खोज्न थालेका थिए । उनीहरूले आफ्नो गुप्तचर निकायमार्फत सूचना संकलन गरिरहेका थिए । रक्षा मन्त्रालयको अवैध गतिविधिको प्रमाण फेला पारेपछि उनीहरूले अधिकारीहरूलाई ब्ल्याकमेल गर्न थालेका थिए । 

त्यसपछि रक्षाका शीर्ष अधिकारीहरूले गृहका शीर्ष अधिकारीलाई नाफाको पहिलो खेप बुझाइसकेका थिए । तर यसरी पैसा बुझाइरहनु ठीक नहुने कुरा उनीहरूले महसूस गर्न थालेका थिए । 

त्यसमाथि गृहमन्त्री मोनास्तिर्स्कीले युक्रेनी सेनाको शीर्ष नेतृत्वलाई पहिलेदेखि नै तनाव दिँदै आएका थिए । द न्युयोर्क टाइम्सका एन्ड्रु ई क्रेमरका अनुसार, मोनास्तिर्स्कीले राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार निर्मूल गर्न तथा जनतालाई थप राम्रो सेवाप्रवाह गर्न खोजेका थिए । 

भ्रष्टाचार उन्मूलन भन्दा पनि रक्षा मन्त्रालय तथा युक्रेनी सेनाले गर्दै आएको भ्रष्टाचारका विषयमा मोनास्तिर्स्कीले सूचना संकलन गरी ब्ल्याकमेल गर्न थालेका थिए । युक्रेनको राष्ट्रिय प्रहरी उनकै मातहतमा रहेकाले उनी राष्ट्रपति जेलेन्स्की तथा युक्रेनी सेनाको गोप्य सूचना पनि संकलन गर्ने गर्थे । त्यस सूचनाका आधारमा उनी र गृह मन्त्रालयका अधिकारीहरूले पैसा धुत्ने गरेका थिए । 

त्यसैले जीयूरका गुप्तचरहरूले मोनास्तिर्स्कीलाई बाटोबाट पन्छाउन हेलिकप्टरमार्फत राम्रो अवसर पाएका हुन सक्छन् । उनीहरूलाई राष्ट्रपति कार्यालयका प्रमुख आन्द्री येरमाकले व्यक्तिगत रूपमा अनुमति दिएका थिए । 

यससँगै एउटा प्रश्न पनि उठ्छ । मोनास्तिर्स्की, उनीभन्दा ठीक मुनिका एभ्गेनी येनिन र मन्त्रालयका अन्य सात अधिकारीहरू एकैपटक हेलिकप्टरमा किन चढेका हुन् ? त्यो हेलिकप्टर युक्रेनको आकस्मिक मामिला मन्त्रालयले उपलब्ध गराएको थियो ।

बाहिर देख्दाखेरी यो दुर्घटना नै भए पनि यसका पछाडि अनेकौं षड्यन्त्रका तानाबाना बुनिएको हुन सक्ने कुरालाई ठाडै नकार्न सकिँदैन । अनि यस घटनाले जेलेन्स्की सरकारमा ठूलै समस्या रहेको संकेत दिन्छ । 

भन्नलाई त उनीहरू युक्रेनको एक युद्धग्रस्त स्थानको भ्रमण गर्ने उद्देश्यले हेलिकप्टरमा चढेको बताइएको छ । तर मन्त्रालयका सबै शीर्ष अधिकारीहरू यसरी एउटै हेलिकप्टरमा प्रायः चढ्ने गर्दैनन् । हिजोको जस्तै दुर्घटना हुन सक्ने डरले पनि सुरक्षा निकायले शीर्ष अधिकारीहरूलाई बेग्लाबेग्लै विमान वा हेलिकप्टरमा जान सुझाव दिन्छ । 

त्यसैले बाहिर देख्दाखेरी यो दुर्घटना नै भए पनि यसका पछाडि अनेकौं षड्यन्त्रका तानाबाना बुनिएको हुन सक्ने कुरालाई ठाडै नकार्न सकिँदैन । अनि यस घटनाले जेलेन्स्की सरकारमा ठूलै समस्या रहेको संकेत दिन्छ । 

जेलेन्स्की र युक्रेनका सेनाप्रमुख लेफ्टिनेन्ट जनरल भ्यालरी जालुज्नीकै बीचमा पनि असमझदारीहरू रहेको बताइन्छ । जेलेन्स्कीले रुसीहरूलाई कुनै पनि किसिमको विजयको दाबी गर्न नपाउने गरी अग्रमोर्चाका शहरहरूको प्रतिरक्षा गरिरहन युक्रेनी सेनालाई निर्देशन दिएको जालुज्नीले चित्त नबुझाएको बताइन्छ । 

सोलेडार शहर आफूहरूको नियन्त्रणमा नरहने सुनिश्चित भए पनि जालुज्नीलाई त्यहाँ लडिरहनका लागि सेनालाई निर्देशन दिन जेलेन्स्कीले दबाब दिएको बताइन्छ । जेलेन्स्कीको अडानका कारण व्यर्थैमा धेरै युक्रेनी सैनिकको ज्यान गएको र अब वसन्त याममा युक्रेनले नयाँ आक्रमणको योजना बनाउन गाह्रो परेको भनी जालुज्नीले चित्त नबुझाइरहेको खबरहरू आएका छन् । 

त्यसबाहेक आफ्नै सल्लाहकारसँग पनि जेलेन्स्कीको ठ्याक नमिलिरहेको देखिएको छ । गत शनिवार (जनवरी १४) मा युक्रेनको नीप्रो शहरमा एक आवासीय भवनमाथि भएको क्षेप्यास्त्र प्रहारका विषयमा जेलेन्स्कीका सल्लाहकार तथा पूर्व गुप्तचर अधिकारी ओलेक्सी आरेस्तोविचको बयान विवादास्पद बनेपछि उनले राजीनामा दिएका छन् । 

उक्त भवनमा ४४ जनाको ज्यान जाने गरी भएको विस्फोट रुसी क्षेप्यास्त्रले नभई युक्रेनको हवाई प्रतिरक्षा प्रणालीको क्षेप्यास्त्र रुसी क्षेप्यास्त्रसँग ठोकिएर झरेपछि भएको आरेस्तोविचले बताए । उनको यस भनाइलाई रुसीहरूले अत्यधिक प्रचारप्रसार गरेपछि पहिला उनले फेसबूकमा माफी मागेका थिए । तर पछि राजीनामा नै दिनुपर्‍यो । 

त्यतिले मात्र नपुगेर युक्रेनका शत्रुहरूको नामको कालोसूचीमा आरेस्तोविचको नाम समेत चढाइएको छ । संसारभरि जेलेन्स्कीका लागि रणनीतिक सञ्चार गर्ने नाममा एकपछि अर्को झूटो कुरा बोल्ने आरेस्तोविचले एउटा सत्य कुरा बोल्दा कालोसूचीमा परेर ज्यानकै खतरा बेहोर्नुपरेको छ । 

हुन त यसअघि पनि आरेस्तोविचले एकाधपटक सत्य कुरा बोल्ने गरेका थिए । रम्बल नामक सामाजिक सञ्जालमा नर्वेली राजनीतिशास्त्री ग्लेन डीसेनले राखेको पुरानो भिडियोमा आरेस्तोविचले एक अन्तर्वार्ताका क्रममा जेलेन्सकीको नीतिका कारण युक्रेनमा रहेका रुसीभाषीहरू बिच्किरहेको र रुसतर्फ आकर्षित भइरहेको बताएका थिए । 

यहुदी जेलेन्स्कीले क्रिस्चियानिटीविरुद्ध युद्ध गरिरहेको समेत उनले बताएका थिए । युक्रेनी सञ्चारमाध्यम किएभ इन्डिपेन्डेन्टले आरेस्तोविचका अन्य विवादास्पद बयानको फेहरिस्त प्रस्तुत गरेको छ । 

जे होस्, यस्तो सिधासिधा कुरा गर्ने भए पनि जेलेन्स्कीले आरेस्तोविचलाई आफ्ना निकटवर्ती नै मान्थे । तर पछिल्लो बयानले निम्त्याएको विवादले आरेस्तोविचलाई डुबाइदियो ।

यी प्रकरणहरूले जेलेन्स्की सरकारमा खटपट रहेको संकेत दिन्छन् । यसैबेला पश्चिममा पनि युक्रेन युद्धप्रति वितृष्णा भाव पलाउन थालेको देखिन्छ । भन्नलाई त पश्चिमाहरू युक्रेनलाई अन्तिमसम्म साथ दिने भनिरहेका छन् तर हतियार सहयोग गर्ने विषयमा उनीहरूबीच विमति छ । 

जेलेन्स्कीले डाभोसमा रुसको नयाँ आक्रमणअघि नै युक्रेनलाई हतियार उपलब्ध गराउन आह्वान गरे । जर्मनीले लेपर्ड ट्यांकहरू दिन ढिलाइ गरिरहेको सन्दर्भमा उनले शीघ्र हतियार दिन जोड गरेका हुन् । तर अमेरिकाले युक्रेनलाई एम१ अब्राम्स ब्याटल ट्यांक नदिउन्जेल जर्मनीले लेपर्ड ट्यांक दिन नसक्ने जर्मनीका चान्सलर ओलाफ शोल्जले बताएका छन् । 

त्यस्तै पोल्यान्डका प्रधानमन्त्री म्याटेउज मोराविकीले युक्रेनका समर्थक राष्ट्रहरू थकित जस्तो देखिएको र युद्धमा उनीहरू पहिलेको जस्तो उत्साहित रूपमा सहभागी नबनेको बताएका छन् । डाभोसमा पोल्यान्डको सरकारी च्यानल टीभीपीसँगको अन्तर्वार्तामा उनले पश्चिम अब थकित भएर सामान्य जीवन जिउन खोजिरहेको जस्तो देखिएको बताए । 

यसरी आन्तरिक रूपमा मन्त्रालयहरूबीच विवाद तथा बाह्य रूपमा पश्चिमाहरूको वितृष्णाका कारण जेलेन्स्की चरम दबाबको स्थितिमा छन् । उता रुसले युक्रेनको दोस्रो प्रतिरक्षात्मक रेखामा पर्ने बाखमुत शहरमाथि धावा बोल्नका लागि सोलेडार शहर नियन्त्रणमा लिइसकेको छ । 

यस्तो स्थितिमा जेलेन्स्कीले रुससँग कूटनीतिक वार्ताका लागि पहल गर्नुपर्ने हो । तर अन्तिम युक्रेनीको सास रहुन्जेल रुसविरुद्ध लडाइरहने अमेरिकी चाहनालाई जेलेन्स्कीले अवलम्बन गरिरहने देखिन्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्