०२ असार २०८३, मंगलबार
ह्यकरले दिएको तनाव

१८ वर्षीय ‘झोलमान्डु’ ह्याकर जसले ललितपुरका हाई–प्रोफाइल स्कूलमा हल्लीखल्ली मच्चाए !

माघ ६, २०७९
१८ वर्षीय ‘झोलमान्डु’ ह्याकर जसले ललितपुरका हाई–प्रोफाइल स्कूलमा हल्लीखल्ली मच्चाए !

ललितपुरकी १४ वर्षीया सविता (नाम परिवर्तन) जिल्लाकै एक प्रतिष्ठित विद्यालयमा कक्षा ९ मा अध्ययनरत छिन् । उच्च घरानाकी सविता पढ्ने स्कूल नेपालकै महंगोमध्येको एक हो ।

कोरोनाकालदेखि उक्त विद्यालयले आफ्नोमा पढाइ हुने शैक्षिक सामग्री शेयर गरेर अध्ययनका लागि सामाजिक सञ्जाल टेलिग्राममा एउटा ग्रुप बनाएको छ । 

उक्त ग्रुपमा अध्ययनका महत्त्वपूर्ण सामग्री शेयर हुने भएकाले ललितपुरकै अर्को एउटा प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालयका विद्यार्थी समेत जोडिएका छन् । चिनजानका साथीभाइमार्फत उनीहरू त्यहाँ जोडिएका हुन् । पछिल्लो समय ती दुई विद्यालयका विद्यार्थीको साझा ग्रुप जस्तै बनेको छ यो ।

त्यो ग्रुपमा बेला–बेलामा विद्यार्थीहरूले भिडियो कलमार्फत पढाइका कुरा गर्ने गरेका छन् ।

एक दिन टेलिग्रामको सो ग्रुपमा सविताको कम्मरभन्दा माथिको नग्न फोटो र भिडियो आयो । उनी छाँगाबाट खसेझैँ भइन् । कसले खिच्यो ? कसरी खिच्यो ? पत्तो पाइनन् । उनले त्यो कुरा आफ्नो आमालाई बताइन् । 

आमाले नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिइन् ।  प्रहरीको अनुसन्धानका क्रममा खुल्यो, टेलिग्राम ग्रुप दुरुपयोग गरेर विद्यार्थीहरूले मध्यरातमा भिडियो कल गर्ने गरेका रहेछन् ।

त्यसक्रममा विद्यार्थीहरूले नग्न भएर अश्लील संवाद समेत गर्ने गरेको खुल्यो । विद्यालयहरूलाई समेत त्यो कुरा थाहा भए पनि सबै उच्च घरानाका विद्यार्थी मात्र पढ्ने भएकाले गुपचुप राख्दै आएका थिए ।

प्रहरीले सवितासँग सोधपुछ गर्दा विद्यालयको च्याट ग्रुपमा समय–समयमा अर्धनग्न भएर राति भिडियो कल गर्ने गरेको स्वीकारिन् ।

‘त्यो दिन म पार्टीबाट हल्का ट्रिपमा आएकी थिएँ,’ सविताले प्रहरीसँग भनिन् ।

‘हल्का ड्रिंक्स गरेको थियौ ?’ प्रहरीको प्रतिप्रश्नमा उनले जवाफ दिइन्, ‘होइन सर फूल ट्रिपमा नै थिएँ । साथीहरू कुरा गरिराखेको थिएँ, त्यही बेलामा माथिको कपडा खोलेको हुँ ।’

‘उनले आफू नशामा रहेका बेला अर्धनग्न भएर भिडियो कल गरेको स्वीकारेकी छन्,’ अनुसन्धानमा संलग्न साइबर ब्यूरोका एक अधिकृतले लोकान्तरसँग भने ।

उनले आफू मात्र नभएर अन्य साथीहरूले पनि नग्न भएर भिडियो कल गर्ने गरेको बयान दिइन् ।

त्यसपछि प्रहरीले दुवै विद्यालयलाई अनुसन्धानको दायरामा ल्यायो । विस्तृत अनुसन्धानका क्रममा खुल्यो सोही ग्रुपमा रहेको कुनै एक व्यक्तिले ती भिडियो रेकर्ड गर्ने गरेको रहेछ ।

अनुसन्धानकै क्रममा साइबर ब्यूरोले पुस १४ गते धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ– ९ उमंगटोल बस्दै आएका १८ वर्षीय रोजत आले मगरलाई पक्राउ गर्‍यो ।

ब्यूरोले अनलाइनमा अश्लील भिडियो र फोटो दुरुपयोग गरेर नाबालिगको चरित्र हत्या गरेको र दुःख तथा हैरानी दिएको अभियोगमा उनलाई पक्राउ गरेको थियो ।

रोजतलाई पक्राउ गरेपछि अर्को रहस्य खुल्यो, उनले त्यस्ता ग्रुपमा छिरेर भिडियो रेकर्ड गर्ने र बिक्री गर्ने गर्दा रहेछन् । 

१८ वर्षीय रोजतले आफ्नै टेलिग्राम ग्रुपहरू समेत बनाएका छन्, जसमार्फत उनले नेपालीहरूका यौन भिडियो बिक्री गर्ने रहेछन् ।

साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार खड्गीका अनुसार उनले उपलब्ध भएसम्मका सबै नेपाली यौन भिडियो एउटा हार्ड ड्राइभमा संकलन गरेर ग्राहकको इच्छाअनुसार बिक्री गर्ने गरेका छन् ।

रोजतले टेलिग्रामको एउटा ‘प्रिमियम’ ग्रुप बनाएका छन्, जसमा पैसा तिरेपछि ती सबै ‘पोर्न’ भिडियो हेर्न मिल्छ । 

‘सरले थाहा पाइहाल्नुभयो, मैले नेपालमा भएका वेबसाइटहरू ह्याक गरेर ती भिडियो जम्मा गरेको हुँ,’ रोजतको भनाइ उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले लोकान्तरलाई बताए ।

उनले ‘घोप्टोमान्डु’, ‘गफमान्डु, ‘गफकेन्द्र’ र ‘झोलमान्डु’ टेलिग्राम प्रिमियम ग्रुप बनाएका छन्, जसमा प्रतिव्यक्ति ४ हजार रुपैयाँसम्म लिएर भिडियो देखाउने गरेको पाइयो ।

उनको त्यो ग्रुपमा ४ हजार तिरेपछि नेपाली यौन भिडियोहरू एकदेखि दुई महिनासम्म हेर्न मिल्ने रहेछ । त्यसपछि मेम्बरशिप अटोमेटिक ‘डिएक्टिभ’ हुने व्यवस्था मिलाइएको छ ।

प्रहरीको अनुसन्धानमा उनको खातामा १७ लाख रुपैयाँ देखिएको छ । उनले पछिल्लो समय आएका उच्च प्रविधियुक्त ल्यापटप, कम्प्युटर, मोबाइल र गेमिङ डिभाइसहरू किनेका छन् ।

उनले आफू बस्ने एउटा कोठालाई उच्च प्रविधियुक्त बनाएर काम गर्ने गरेको पाइएको इन्सपेक्टर खड्गीले लोकान्तरलाई बताए ।

सबै सामग्री पोर्न बिक्री गरेकै पैसाले किनेको उनले बताएका छन् ।

रोजत सामान्य परिवारका हुन् । उनकी आमा काठमाडौंकै एक निजी अस्पतालमा सरसफाइ कर्मचारीको रूपमा कार्यरत छिन् । 

salt training

कमेन्ट गर्नुहोस्