
मौसम अनुकूल रहेकाले मुलुकको आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नियमितरूपमा सञ्चालन भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
प्रतिकूल मौसमले शुक्रवार काठमाडौं विमानस्थलसहित देशका अधिकांश विमानस्थलको उडान प्रभावित भएको थियो भने अन्तर्राष्ट्रियतर्फ केही उडान ‘डाइभर्ट’ गरिएको थियो ।
आन्तरिक उडानका जहाज पनि डाइभर्ट भएका थिए । मध्याह्नदेखि दुवैतर्फको उडान सामान्य बनेको थियो । शनिवार बिहानैदेखि काठमाडौं विमानस्थलमा दुवैतर्फका उडान सामान्य रहेको छ । काठमाडौं बाहिरका केही विमानस्थलमा मौसम खुलेसँगै उडान हुने चरणमा रहेको विमानस्थलले जनाएको छ ।
तुलनात्मक रूपमा शनिवार काठमाडौं उपत्यकाको आकाश खुलेको छ । बिहानैदेखि पारिलो घाम लागेको छ । शुक्रवार विमानस्थलको भिजिबिलिटी कमजोर हुँदा उडान प्रभावित भएको थियो । शनिवार विमानस्थलको भिजिबिलिटी राम्रो रहेकाले उडान नियमित सञ्चालन भइरहेको हो ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली, मधेश प्रदेश र १ नम्बर प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
दिउँसो पहाडी भूभागमा आंशिक बदली रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका १–२ स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।