
देशमा अहिले उल्लेखनीय मौसम प्रणाली नभएकाले आज प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली भए पनि अन्य भुभागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज राति बागमती र मधेस प्रदेशसहित प्रदेश १ को पहाडी भूभागमा मौसम सामान्य बदली रहने र बाँकी ठाउँमा मौसम सफा रहने विभागको भनाइ छ । त्यस्तै, भोलि सोमबार देशभर मौसम सफा रहने छ । सोही राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ । सो दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यस्तै, माघ १० गते मंगलबार पनि उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ । सो दिन सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका आंशिक बदली रहने छ । एक दुई स्थानमा हल्का वर्षा हुनुका साथै उच्च पहाडी भुभागमा हल्का हिमपात समेत हुने विभागले जनाएको छ ।
तराईका केही भूभागमा विहानीपख हुस्सु र कुहिरो लाग्नेक्रम जारी रहेकाले हवाई यातायात प्रभावित हुनसक्ने र तराइको जनजीवन प्रभावित हुनेछ । अझ केही दिन चिसो कायमै रहने हुनाले त्यसबाट बच्न सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।