
अवैध रूपमा विदेश पठाउन लागिएको १ सय १ थान राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र ७९ थानसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-३ घर भएका ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ घर भएकी ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेका छन् ।
नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडि ब्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रूपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको थियो ।
थप सोधपुछका क्रममा उक्त राहदानीहरू रोमानियामा भिषा स्ट्याम्पिङ गर्न लान लागेको भनी वैदेशिक रोजगार विभागबाट जारी भएको भिषा स्ट्याम्पिङ निर्णय फारम पेश गरेकोमा सो सम्बन्धमा अनुसन्धान गर्दा उक्त फारममा उल्लेखित विवरण भएको राहदानीहरू र निजहरूको साथबाट बरामद भएको राहदानीहरूको विवरण फरक पर्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्ज पठाइएको छ ।