
कलाकारहरूमा राजनीतिप्रतिको मोह बढदै गएको छ । शनिबार रूपन्देहीको भैरहवामा अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।
कलाकारिता र अभिनयमा सफल हुन नसकेकी गौतम राजनीतितर्फ आकर्षित भएका हुन् ।
गौतमलाई नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठ चौधरीले पार्टीमा भित्र्याइन्।
गौतमले अभिनय गरेका म्युजिक भिडियो र चलचित्र दर्शकले खासै रुचाएनन् । पत्रकार तथा रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला पत्नी गौतमको रेशम चौधरी संरक्षक रहेको पार्टीमा प्रवेशले कलाकारहरूमा एउटा तरंग ल्याइदिएको छ ।
गौतमलाई पार्टीको महत्वपूर्ण जिम्मेवारी दिने पार्टी अध्यक्ष रञ्जिताले भैरहवामा बताइन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठले एलिजाको जिम्मेवारी टुंगो नलागेको जानकारी दिइन ।
पार्टी प्रवेश गर्दै एलिजाले सामाजिक लोकतन्त्र र थारू अधिकार बोकेको नागरिक उन्मुक्ति पार्टीका विचारधारा आफूलाई मन परेपछि पार्टीमा जोडिएको बताइन् ।
मुलुकका ठूला राजनीति दलहरूबाट आफूलाई पार्टीमा प्रस्ताव आए पनि उन्मुक्ति पार्टीको एजेण्डाले आफूलाई तानेको बताइन् ।
गौतम सञ्चार उद्यमी पनि हुन् । गौतमसँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् । उनी बैंकर तथा व्यवसायी हुन् ।
एलिजा पाँच वर्षअघिक फिल्म ‘अनुराग’ बाट फिल्ममा डेब्यु गरेकी थिइन् । उनले केही म्युजिक भिडियोमा समेत काम गरेकी छन् ।