
धनुषामा प्रहरीको हिरासत तोडेर फरार भएका ६ जना शौचालयको कमोडमा प्रयोग भएको रड प्रयोग गरेर फरार भएका खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रका अनुसार आरोपीहरू हिरासतभित्र भएको शौचालयको कमोडमा रहेको रडले घरको भित्ता फोडेर फरार भएका छन् ।
‘उनीहरूले कमोडको रडले बिस्तारै माटो, सिमेन्ट र इँटा निकालेर फरार भएको देखिएको छ,’ डीएसपी क्षेत्रीले लोकान्तरसँग भने । डीएसपी क्षेत्रीका अनुसार हिरासतमा लागूऔषध, हातहतियार, अभद्र व्यवहारका ७ जना थुनुवा थिए । त्यसमध्ये १ जना भाग्न सकेनन् । ६ जनालाई भगाएर अन्तिममा आफू बाहिर निस्कन नसक्दा भाग्न नसकेको देखिएको छ ।
‘अरुलाई भगाएर आफू अन्तिममा भाग्न खोज्दा निक्लिन नसकेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ प्रवक्ता क्षेत्रीले भने ।
प्रहरीले हिरासतमा भएको सीसीटीभीमा बिहान करीब ३ बजेको समयमा भागेका देखिएको छ । त्यो समयमा सीसीटीभी हेर्ने कर्मचारी नभएको र सेन्ट्री बसेको प्रहरीले पनि थाहा नपाएको डीएसपी क्षेत्रीले दाबी गरे ।
तर लोकान्तरलाई स्रोतले बताएअनुसार ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका कार्यरत इन्स्पेक्टर बेचन यादवले सीसीटीभी कन्ट्रोल गर्ने सबै उपकरण आफ्नो कोठामा राखेर मान्छे खटाएका थिएनन् । सीसीटीभी फुटेजमा उनीहरूले खनेर गएको स्पष्ट देखिएको अनुसन्धानमा खटेका अधिकारीले बताए ।
‘उहाँ (इन्स्पेक्टर) ले एक जनालाई खटाएर निगरानीमा राख्नुपर्ने सीसीटीभी उपकरणहरू आफ्नो रूममा राखेर हेलचक्र्याइँ गरेको देखिन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने । आइतवार राति इन्चार्ज रहेका यादव कार्यालयमा नरहेको देखिएको छ । इन्स्पेक्टर यादव राति जनकपुर आएर बसेको अनुसन्धानमा देखिएको छ ।
प्रहरी हिरासतमा रहेका लागूऔषध मुद्दाका आरोपित विनोदकुमार शर्मा, सार्वजनिक अपराध मुद्दाका आरोपित अमित मण्डल, रोशन यादव, अभद्र व्यवहार मुद्दाका आरोपित हसिम सिंह, रोशन महतो र हातहतियार मुद्दा आरोपित रोशन महतो र शंकर सिंह पर्खाल भत्काएर ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट फरार भएका हुन् ।
अनुसन्धानमा तानिए इन्स्पेक्टर
लामो समयदेखि ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बेचन यादव थिए । यसअघि उनलाई महिला प्रहरीलाई दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनलाई प्रदेश प्रहरी कार्यालयले जिम्मेवारीबाट हटाएको छ । उनको ठाउँमा अर्काे इन्स्पेक्टर भने पठाइएको छैन ।
उनी लामो समयदेखि शक्तिको आडमा इन्चार्ज बन्दै आएका थिए । उनी नेपाली कांग्रेसनिकट नेताको पावरमा सरुवा भए पनि इन्चार्ज बस्दै आएका छन् ।