नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले युक्रेनलाई सैन्य सहायता बढाउन दक्षिण कोरियालाई सोमवार आग्रह गरेका छन् ।
द्वन्द्वरत मुलुकलाई हतियार निर्यात नगर्ने नीतिमा पनि पुनर्विचार गर्न स्टोल्टनबर्गले दक्षिण कोरियालाई सुझाव दिएका छन् ।
स्टोल्टनबर्ग एसिया भ्रमणको पहिलो चरणमा सौल पुगेका छन् । त्यहाँबाट उनी जापान जानेछन् । युक्रेन द्वन्द्व चलिरहँदा तथा चीनबाट तेर्सिएको चुनौती सामना गर्नुपर्दा क्षेत्रका लोकतान्त्रिक साझेदारहरूसँगको सम्बन्ध अभिवृद्धि गर्न स्टोल्टनबर्गले यो भ्रमण गरेका हुन् ।
किएभलाई थप गोलीगट्ठा आवश्यक परेकाले सहयोग गर्न उनले सौललाई आग्रह गरेका हुन् ।
जर्मनी र नर्वेले पनि द्वन्द्वरत मुलुकलाई हतियार नदिने नीति बनाएको भए पनि रुसी आक्रमणपछि अहिले त्यसलाई परित्याग गरेको स्टोल्टनबर्गले स्मरण गराए ।
दक्षिण कोरिया विश्वव्यापी रूपमा हतियार निर्यात गर्ने महत्त्वपूर्ण मुलुक हो र उसले हालैका महिनामा युरोपेली मुलुकहरूलाई ट्यांक बेच्नका लागि सहमति गरेको छ ।
तर दक्षिणको कानूनले सक्रिय द्वन्द्व गरिरहेका मुलुकलाई हतियार निर्यात गर्नबाट रोक लगाएको छ । त्यसैले युक्रेनलाई हतियार दिन दक्षिण कोरिया इच्छुक छैन यद्यपि उसले युक्रेनलाई गैरघातक तथा मानवीय सहायता उपलब्ध गराउँदै आएको छ ।