
विभिन्न अपराधका घटनामा संलग्नलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुकी प्रहरी निरीक्षक शैलेश्वरी बोहराका अनुसार पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्त भन्ने ३१ वर्षीय जग्गु तेली, कपिलवस्तु जिल्ला इन्चार्ज २० वर्षीय विपिन विक, १८ वर्षीय बृजेश गिरी र २० वर्षीय सुग्रिम रैदास छन् ।
विभिन्न व्यक्तिसँग धम्कीपूर्ण रूपमा चन्दा उठाएको तथा २ वटा ट्रक र एउटा मोटरसाइकलमा आगजनी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी निरीक्षक बोहराले बताइन् ।
आगजनी गरिएका ३ वटै घटनास्थलमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तबाट जारी गरेको निर्वाचन बहिष्कार, नेपाल बन्द लगायतका विभिन्न ७ बुँदे माग सहितको पर्चाहरू प्रहरीले फेला पारेको थियो ।
उनीहरूले गत पुस १६, १७ र १८ गते कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका ३४ वर्षका वुद्धकुमार अग्रहरिलाई फोन गरेर २५ लाख रुपैयाँ चन्दा मागेका थिए । चन्दा नदिए भौतिक आक्रमण गर्ने चेतावनी समेत दिएको खुलेको छ ।
पुस २६ गते कृष्णनगर नगरपालिका–८ गणेशपुरका ४४ वर्षका ओमकार चौधरीलाई फोन गरेर १० लाख रुपैयाँ चन्दा मागेका प्रहरीले बताएको छ ।
माघ २–१३ गतेसम्म शिवराज नगरपालिका–७ बालानगर बस्ने पुजारीप्रसाद चौधरीलाई फोन गरेर ५ लाख रुपैयाँ चन्दा मागेका थिए । मागेको चन्दामध्ये १ लाख लिँदै गर्दा माघ १३ गते बिरु भन्ने बृजेश गिरी र सुग्रिम रैदास १ लाख रुपैयाँसहित पक्राउ परेका थिए । उनीहरूको सूचनाको आधारमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट २ वटा मोटरसाइकल, एउटा ल्यापटप र ६ वटा मोबाइल बरामत गरेको छ । पक्राउ परेका चारै जनामाथि आपराधिक लाभ शीर्षकमा कपिलवस्तु जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।