
सिन्धुलीमा घर चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
तीनपाटन गाउँपालिका-८ कटुन्जे बस्ने ७० वर्षीय मंगल बहादुर तामाङको घरमा डाँका चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा उनीहरूलाई प्रहरीले आज पक्राउ गरेको हो।
उनीहरूले पुस २ गते साँझ मंगल बहादुर तामाङ र उनको भान्जी घरमा बसिरहेको अवस्थामा दुवै जनालाई हात खुट्टा बाँधी कुटपिट समेत गरी सुनको रिङ २ थान, फुली, चाँदीका पुराना सिक्काहरू, सुनको मुन्द्रा, तामाको थाल, कचौरा लुटपाट गरी फरार भएका प्रहरीको आरोप छ।
पक्राउ पर्नेहरूमा दुधौली नगरपालिका-१० बस्ने ४४ वर्षीय हर्क बहादुर तामाङ, फिक्कल गाउँपालिका-१ बस्ने ३१ वर्षीय रूद्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ५३ वर्षीय डम्बर बहादुर तामाङ रहेका छन् ।
घटनाको आवश्यक अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुली र इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले डाँका चोरीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।
साथै चोरी भएको सामानहरूमध्ये बुट्टे कचौरा ३ थान, ढलोटको अम्खरा ३ थान, तामाको ठूलो डबका २ थान र झर्काको थाल २ थान दुधौली नगरपालिका-१० मंगलबारे बस्ने ३५ वर्षीय लाल बहादुर तामाङको घरबाट गत शनिबार प्रहरीले फेला पारी बरामद गरेपछि घटनामा उनीहरूको संलग्नता रहेको खुल्न आएको प्रहरीले जनाएको छ।
उनीहरूउपर जिल्ला अदालतबाट म्याद अनुमति लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।