
न्युजिल्याण्डको नयाँ सरकारले मूल्यवृद्धि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताएको छ । आज नयाँ मन्त्रिपरिषद् घोषणा गर्दै प्रधानमन्त्री क्रिस हिप्किन्सले जीवन यापनका निम्ति आवश्यक पर्ने आधारभूत वस्तुहरूको मूल्य स्थिर राख्नु आफ्नो सरकारको पहिलो प्राथमिकता हुने बताए ।
जीवन यापनको लागत घटाउनु, शिक्षा, स्वास्थ्य, आवास, समुदाय र व्यवसायको सुरक्षा नै आफू नेतृत्वको सरकारको पहिलो प्राथमिकता हुने बताउँदै प्रधानमन्त्री हिप्किन्सले देशवासीका वर्तमान समस्या समाधानप्रति नै आफ्नो ध्यान केन्द्रित रहने उल्लेख गरे।
गत डिसेम्बर २० सम्म न्युजिल्याण्डमा उपभोक्ता मूल्यसूची ७.२ प्रतिशत रह्यो । यो विगत केही दशकयताकै उच्च हो । “ग्रान्ट रवर्टसन अर्थमन्त्री रहनुहुनेछ जसले मूल्यवृद्धि नियन्त्रणमा आफूलाई केन्द्रित गर्दै देशवासी र व्यवासयका आर्थिक मन्दीलाई चिर्नुहुनेछ,” प्रधानमन्त्री हिप्किन्सले भने ।
माइकल उडलाई मन्त्रिपरिषद्को सातौ वरियतामा समावेश गरिएको तथा उनी अक्ल्याण्डका निम्ति मन्त्री तथा सहायक अर्थमन्त्रीसमेत रहने जानकारी दिँदै प्रधानमन्त्रीले वर्षा र बाढीका कारण तहसनहस भएको देशको सबैभन्दा ठूलो शहरको व्यवस्थापनमा मन्त्री उडले विशेष ध्यान दिने जानकारी दिए ।
कोभिड महामारीपछिको शैक्षिक क्षेत्रलाई पुनः गतिशील तुल्याउन पूर्वप्रधानाध्यापक एवम् शिक्षा क्षेत्रका जानकार जेन टिनिटीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सङ्क्रामक रोग विशेषज्ञ आयसा भर्रालले स्वास्थ्यमन्त्रीका रूपमा काम गर्ने प्रधानमन्त्री हिप्किन्सले घोषणा गरे ।