बैंकिङ कसूर मुद्दाका ३ जना फरार प्रतिवादीलाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका –३२ कोटेश्वर बस्ने ४३ वर्षीय रोसन खत्री, भक्तपुर नगरपालिका –३ तेखाचो बस्ने ३९ वर्षीय गौतम चौगुठी र काठमाडौं तार्केश्वर नगरपालिका –११ मनमैजु बस्ने नुवाकोट ककनी गाउँपालिका –६ घर भएका ४२ वर्षीय राजकुमार लामा रहेका छन् ।
प्रहरीले उनीहरूमध्ये रोसनलाई ललितपुर टिकाथलीबाट, गौतमलाई भक्तपुर वंशगोपालबाट र राजकुमारलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो । पक्राउ परेका मध्ये रोसनलाई उच्च अदालत पाटनको गत मंसिर ११ गतेको फैसलाले चार दिन कैद र ७ लाख रूपैयाँ जरिवाना सजाय सुनाएको थियो ।
त्यस्तै, गौतमलाई गत मंसिर २३ गतेको फैसलाले ८ दिन कैद र २२ लाख रूपैयाँ जरिवाना सजाय तथा राजकुमारलाई गत कात्तिक २५ गतेको फैसलाले १० दिन कैद र १८ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको थियो ।
पीडितलाई आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभए पनि दिएको चेकको रकम भुक्तान हुन नसकेको घटनामा अदालतले उनीहरूउपर उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि रोसन र गौतमलाई जिल्ला अदालत भक्तपुरमा र राजकुमारलाई जिल्ला अदालत ललितपुरमा पेश गरिएको प्रहरीले जनाएको छ ।