काठमाडौं, ६ भदौ—राप्रपाले १८ सांसद व्यवस्थापिका संसद बैठकमा अनुपस्थित भएर पार्टीको ह्वीप उलंघन भएको भन्दै उनीहरुलाई कारबाहीको तयारी गरेको छ ।

मंगलबार बिहान कारबाहीबारे छलफल गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका पदाधिकारी, संसदीय दल र कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राप्रपाले केन्द्रीय समितिको हेटौंडा बैठकको निर्णय अनुसार संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने निर्णय गरेको थियो भने सोहि अनुसार संसदीय दलको सोमबारको बैठकले ह्वीप जारी गरेको थियो । तर पशुपति शमशेर राणा समूहमा लागेका भनिएका १८ सांसदले ह्वीप उलंघन गरेको राप्रपाको भनाई छ ।
सोमबार संसदमा राप्रपाका १९ जना उपस्थित भइ संविधान संशोधन विधेयकको विपक्षमा मतदान गरेका थिए ।
अनुपस्थित हुने र ह्विप उल्लंघन गर्नेलाई कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने राप्रपाले जनाएको छ ।
सहप्रवक्ता श्रेष्ठका अनुसार सोमबारको संसद बैठकमा कमल थापा, जयन्त चन्द, दिलनाथ गिरी, विक्रम बहादुर थापा , गंगाप्रसाद यादव , कुन्ती कुमारी शाही, भाष्कर भद्रा, दिनेश श्रेष्ठ ,सुशील श्रेष्ठ, परशुराम तामाङ, राजेश्वरी देवी, लिला श्रेष्ठ, भक्त बहादुर खपाङ्गी श्यामसुन्दर टिवडेवाल, राजकुमार अग्रवाल, राम दुलारी चौधरी, श्री कान्ति पासी, गणेश थापा र कान्ता भट्टराई संसदमा उपस्थित भएपनि बाँकी १८ सांसद उपस्थित भएका थिएनन् ।